मुख्यमन्त्री लामाको काउण्टर : पाँच मन्त्री थप्दै, तीन जना नियुक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन जना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले पाँच वटै मन्त्रालयका मन्त्री नियुक्तिको तयारी गरेका छन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ । बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रीले राजीनामा दिएका थिए । राजीनामासँगै पाँच मन्त्रालय मन्त्रीविहीन थिए । साउन ९ गते चार जना र १३ गते १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
कांग्रेस संसदीय दलमा बुझाइएको मुख्यमन्त्री लामाको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद श्रेष्ठले मतदानमा भने मुख्यमन्त्री लामाको पक्षमा उभिएकी थिइन् । उनी र गीता गुरुङ दुई जना चितवनबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद हुन् । भने गोविन्द लम्साल धादिङ जिल्लाका हुन् ।
पाँचै मन्त्रालयमा एकैसाथ मन्त्री नियुक्ति गर्ने गरी बाँकी दुई जनाको पनि टुंगो लगाउन छलफल गरेको स्वकीय सचिव छत्रबहादुर लामाले जानकारी दिए । मुख्यमन्त्री लामा संसदीय दलबाट हटे पनि आफ्नो पद जोगाउन अझै सांसदहरूलाई आफूतर्फ ल्याउन प्रयत्न गरिरहेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज बैठक बस्ने तयारी छ ।