मन्दिर जाँदै गर्दा मोटरसाइकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौतीमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र छोरा घाइते भएका छन् ।
पनौती नगरपालिका ३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिर जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पनौती ५ बस्ने ३२ वर्षीया सुजना खत्रीको मृत्यु भएको छ । उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै उनका श्रीमान् मोटरसाइकल चालक ३२ वर्षीय विजय थापा र उनका छोरा ५ वर्षीय बीएन्स थापा घाइते भएका छन्।
विजयको बायाँ खुट्टाको गोलीगाँठामा चोट रहेको छ भने बीएन्सको निधारमाथि टाउकोमा चोट रहेको छ । उनीहरू दुवै जनाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सुजनाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।