जीपले मिनी ट्रकलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

सुर्खेत । सुर्खेतमा जीपले मिनी ट्रकलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ धुलियाबिटका ३५ वर्षीय श्रीमान प्रेम बुढाको मृत्यु भएको सुर्खेतका प्रहरी प्रवक्ता मोहनजंग बुढथापाले जानकारी दिए । यस्तै, ३२ वर्षीया श्रीमती तिलकुमारी बुढा घाइते भएकी छिन् । प्रेमको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर– ११ धुलियाबिट नजिक गुमीबाट सुर्खेत बजार आउँदै गरेको क. प्र ०२००१ च. ०९४४ नम्बरको जीपले रोकेर राखेको भे. १ क. १३४७ नम्बरको मिनी ट्रकलाई ठक्कर दिएको थियो । सुर्खेत लेकवेसी नगरपालिका– ६ का २१ वर्षीय जीप चालक यामलाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।