जनार्दनलाई प्रचण्डको चेतावनी : सिँगौरी खेल्न दिएकै छु, उदारतालाई कमजोरी नठान्नू

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्मालाई आफूले पार्टीमा प्रशस्त सिँगौरी खेल्न दिएको टिप्पणी गरेका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।
हिजो उपमहासचिव शर्माले एक कार्यक्रममा बोल्दै माओवादीलाई नयाँ पुस्ताले नेतृत्व गर्ने वातावरण बनाउन लागेको भन्दै पार्टी पुनर्गठनको विकल्प नभएको बताएका थिए । उनले पार्टीमा निरंकुशता र व्यक्तिवादी हाबी भएको दाबी गरेका थिए ।
प्रचण्डको जवाफ थियो, ‘धेरै पटक आलोचना गरेको सुन्छु । एकथरी मान्छेलाई छटपटी भएको छ । ३६ वर्ष भइसक्यो छोड्दैन भन्छन्, प्रचण्ड बाहेक, म यसो सोच्छु राति सुत्ने बेला सोच्छु, एकमनले सोच्छु अब छाड्दिऊँ कि के हो बेकार, भन्या जस्तो लाग्छ । फेरि एक मनले विचार ग¥यो मैले छोड्यो भने झन् बर्बाद हुन्छ कि भन्ने डर लाग्छ ।’
उनले भिन्न मतलाई दमन गर्ने आफ्नो कमजोरी नभएको भन्दै उदार हुनु कमजोरी भएको बताए । ‘मलाई पार्टीभित्र बढी आलोचना हुने विषय पनि त्यही हो । मैले कसैलाई कारबाही गरिनँ, बाबुराम, किरण, बादल अरू थुप्रै मैले कसैलाई पार्टीबाट निकालेको छैन । तर, कतिपयलाई ननिकाले पनि के गर्ने बस्ने ठाउँ नै नदिएपछि भन्ने लाग्छ, त्यो पनि सत्य होइन । मैले पर्याप्त छलफलका वातावरण दिने गरेको छु’ दाहालले भने, ‘अहिले केही केही साथीले सिँगौरी खेल्न पाए हुन्थ्यो जस्तो गर्नुभएको छ, मैले प्रशस्त सिँगौरी खेल्न दिएको छु । कति सिँगौरी खेल्न मन छ खेल्नुस्, अस्ती डेढ महिना परामर्श बैठक भन्दै सँगै लिएर हिँडे । त्यो भन्दा बढी के हो जनवाद ?’
अध्यक्ष ‘प्रचण्ड’ ले कम्युनिष्ट पार्टीहरूबीचको ध्रुवीकरण नै नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठप्रतिको सम्मान हुने बताएका छन् । ४७औं स्मृति दिवसका अवसरमा बुधबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा दाहालले यसो भनेका हुन् ।
‘कमरेड पुष्पलाललाई सम्झिँदै गर्दा आजको दिनमा हामी कम्युनिष्ट भन्नेहरूले कम्तीमा पनि सैद्धान्तिक, राजनीतिक र व्यावहारिक रूपमा दलाल नोकरसाही पुँजीवादका विरुद्धमा सङ्घर्ष हो भने त्यसका विरुद्ध खडा हुने सबैका बीचमा मोर्चा, एकता र ध्रुवीकरणका निम्ति पहल गर्नुपर्छ,’ दाहालले भने ।
उनले यसका लागि सबैलाई अपिल समेत गरेका छन् । ‘साँच्चै हामी नोहरसाही पुँजीवादका विरुद्धमा इमान्दारिताका साथ विश्लेषण गरेको हो भने हामी त्यसमा एकताबद्ध बन्ने आधार खोज्न सक्छौँ, निर्माण गर्न सक्छौँ र एउटा बलियो शक्ति बनाउन सक्दछौँ,’ उनले थपे ।
उनले पुष्पलाललाई साझा व्यक्तित्वका रूपमा ग्रहण गर्ने गरेको समेत बता ए। आफूले पुष्पलाल समूहमै कम्युनिष्ट पार्टीको सदस्यता लिएको बताए । ‘कम्युनिष्ट आन्दोलनमा पुष्पलाललाई साझा व्यक्तित्वको रूपमा हामी सबैले ग्रहण गर्दै आएका छौँ । अरु कुनै पनि व्यक्तित्व विभाजति हुन्छ,’ उनले भने ।