गणतन्त्रप्रति सबैभन्दा बढी चिन्ता माओवादीलाई छ : प्रचण्ड
‘कार्यान्वयनको समीक्षा गरेर मात्रै संविधान संशोधन’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रप्रतिको सबैभन्दा गहिरो चिन्ता तथा सरोकार आफूहरूलाई नै रहेको बताएका छन् ।
आज (बुधबार) राजधानीमा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल’ शीर्षक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो संघर्ष,त्याग र बलिदानबाट प्राप्त भएको गणतन्त्रमाथि हाल प्रश्न उठ्न थालेपछि त्यसको संरक्षण र सुदृढीकरणप्रति गम्भीर चासो व्यक्त गरेका हुन् । उनले आन्दोलनको स्मरण गर्दै भने, ‘बच्चा जन्माउने आमालाई जति माया हुन्छ, त्यति अरूलाई हुँदैन । गणतन्त्रप्रति प्रश्न उठेपछि हामीले काठमाडौंमा विशाल प्रदर्शन त्यसैगरी मात्रै गरेका थिएनौं, त्यो हाम्रो संकल्प र सरोकारको अभिव्यक्ति थियो ।’
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनको योगदानबाट महिला, दलित, आदिवासी तथा जनजाति समुदायले पाएका अधिकारहरू आज संस्थागत भएको उल्लेख गर्दै ती अधिकारहरू अब उल्ट्याउन नसकिने विश्वास व्यक्त गरे । उनले पछिल्ला दिनमा गहिरो अध्ययन, चिन्तन, वैचारिक सिद्धान्त र त्यागमा आधारित आन्दोलन तथा नेताहरूलाई हल्कारूपमा व्याख्या गर्दै आलोचना गर्ने प्रवृत्ति बढिरहेकोप्रति दुःख प्रकट गरे ।
‘आजभोलि सुसंस्कार, दर्शन र युगान्तकारी परिवर्तन ल्याउने नेताहरूलाई गाली गर्ने फेसन चलेको देखिन्छ,’ उनले भने । त्यस्तै कुनै वैचारिक धरातल वा ऐतिहासिक योगदान नरहेका व्यक्तिहरूबाट जनतालाई भ्रममा पार्ने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले त्यसले मुलुकलाई गलत दिशातर्फ डोर्याउन सक्ने खतरा औंल्याए । उनले भने, ‘देशमा निराशावादको व्यापार, असन्तुष्टिको बजार र देश छोड्ने पलायन प्रवृत्तिहरू हावी हुँदै गइरहेका छन् । यस्ता प्रवृत्तिविरुद्ध प्रतिवाद गर्न तथा जनतालाई सही इतिहास बुझाउन पुस्तकहरू सशक्त माध्यम हुन सक्छन् ।’
अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयनको राम्रोसँग समीक्षा गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने बताएका छन् । उनले स्थानीय सरकारलाई कति प्रभावकारी बनाउन सकियो भनेर समीक्षा गर्ने बेला भएको बताए ।
उनले संविधान कार्यान्वयन कस्तो रह्यो भनेर समीक्षा गर्नुपर्ने जरुरी रहेको र समीक्षापछि मात्रै संशोधन र परिमार्जनको प्रक्रियामा जान जरुरी रहेको बताए । कार्यक्रमको समापनमा अध्यक्ष प्रचण्डले गहन र विश्लेषणात्मक कृतिहरूले मुलुकको राजनीतिक, सामाजिक र वैचारिक मार्गदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।