मदनपुत्री उषाको टिप्पणी : तिकडम र च्यासलको निर्णयबाट अचम्मित छैन

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन नदिने नेकपा एमालेको निर्णयप्रति आफू अचम्मित नरहेको भण्डारीकी छोरी उषा किरणले टिप्पणी गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले निर्णय प्रक्रियाप्रति जानकार रहेकाले अचम्मित नरहेको उल्लेख गरेकी छन ।
‘निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन’ उनले लेखेकी छन्, ‘म खुशी छु कि यो खुला रुपमा बाहिर आयो ।’ एमालेको मंगलबार रातिसम्म बसेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा आउनबाट रोक्ने निर्णय गरेको थियो ।
भण्डारी मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष समेत रहेकी उनले त्यसप्रति सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै यस्तो निर्णयमा पुग्न तिगडम गरिएको समेत आरोप लगाएकी छिन् । ‘तपाईहरूमध्ये कति जना यो निर्णयबाट छक्क पर्नु भएको देखेर म छक्क परें,’ भण्डारीले लेखेकी छिन्, ‘तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनु भएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिकडम दुवैबाट म चाहीँ अच्चमित छैन ।’
उनले पुष्पलालको परिवार राजनीतिमा निष्कृय रहनुको प्रसङ्ग उल्लेख गर्दै आफ्नो परिवारलाई पनि अप्ठ्यारो आइलागेको बताएकी छन् । ‘विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्’ उषा किरणले लेखेकी छन् । उनले च्यासलको केन्द्रीय कमिटी बैठकको निर्णयलाई प्रकरणको संज्ञा दिएकी छन् । ‘यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो– त्यस कारण यो प्रकरणलाई धन्यवाद’, उनले लेखेकी छन् ।