भूमि विधेयक ‘फास्ट ट्रयाक’ पास गर्न खोज्नु शंकास्पद : डा. कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भूमि विधेयक ‘फास्ट ट्रयाक’ बाट पास गर्ने एमालेको प्रस्तावले शंका उब्जाएको बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एमालेको प्रस्तावले शंका उब्जाएको र मन्त्रीमाथि छानबिन गर्न पनि भनेका हुन् ।
उनले लेखेका छन्, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुईमध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भईरहेको स्थितिमा भूमि विधेयक फास्ट्र याकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शंका उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न । नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन । पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’