कांग्रेस–एमालेले देश लुट्न टेन्डर पारे जस्तो गर्दैछन् : अध्यक्ष लिङदेन
‘मन्त्रीहरूबीच कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चल्यो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका मन्त्रीहरूबीच कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका छन् । उनले विवादमा परेका मन्त्रीको सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेका छन् ।
आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा अध्यक्ष लिङ्देनले कांग्रेस–एमाले सरकारका मन्त्रीहरूबीच कसले छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको आरोप लगाएका हुन् । ‘कांग्रेस एमाले जस्ता दुई ठूला पार्टी मिलेको सरकारले देश लुट्न टेण्डर पारे जस्तो व्यवहार भइरहेको छ । टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिरहेको छ कि, कुन मन्त्रीले छिटो र धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलिरहेको छ,’ लिङदेनले भने ।
पोखराको लिची बगान खानका लागि वर्तमान र पूर्वमन्त्रीबीच साठगाँठ चलेको उनले आरोप लगाए । ‘टेण्डर हामीले पारेको हो, अरु कराउँदै गर्छन् । वैधानिकता हामीसँग छ, हामी अगाडि बढ्छौं, जसले सक्छ खाने हो भनेर जसरी संसद् अगाडि बढाउने कुरा भइरहेको छ,’ लिङदेनले भने, ‘भिजिट भिसा मात्र होइन, बजार भाउ बढाएर खाने प्रवृत्तिको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ ।’
अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसादेखि मन्त्रीहरुको ‘घुस डिल’ प्रकरणसम्मको छानबिन गर्न न्यायिक आयोग बनाउन माग गरेका छन् । ‘अब भिजिट भिसाको बारेमा मात्रै होइन, यी दर्जनौं मन्त्रीका बारेमा बाहिर कुरा आइरहेको छ,’ लिङ्देनको भनाइ छ, ‘भ्रष्टाचारमा संलग्नताको विषय आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाएको कुरा आइरहेको छ । ती सबैको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ ।’
आयोग नबनेसम्म आफूहरुको संसद्मा विरोध भइरहने र त्यसलाई सरकारले बेवास्ता गरे सडकबाट प्रतिवाद गर्ने समेत चेतावनी दिए । ‘तबसम्म हामी यो संसद्मा यस प्रकारको विरोध गरिराख्छौँ,’ लिङ्दनेको चेतावनी छ, ‘यो सरकारले यिनीहरू यस्तै हो भन्ने ठान्छ भने हामी सडकबाट टुंगो लगाउनेतिर जान्छौँ । समय आउने बित्तिकै हामी सडकबाट प्रतिवाद गर्छौं । सरकार समयमै सच्चियोस् र संवाद गरोस् । न्यायिक छानबिन आयोग गठन गरोस् ।’