जनार्दन शर्माको दावी : मनमोहन बाहेक सबै कम्युनिष्ट नेताहरुले असुली धन्दा चलाए

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले मनमोहन अधिकारी बाहेक नेपालका कुनै पनि कम्युनिष्ट प्रधानमन्त्री विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको दावी गरेका छन् । मार्क्सवादी अध्ययन केन्द्रले पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्री शर्माले नेपालमा नौं पटक कम्युनिष्ट नेतृत्वको सरकार बने पनि सिद्धान्त अनुसार काम गर्न नसकेको बताए ।
उपमहासचिव शर्माले भने–प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्छ । तर त्यस्तो संकल्प हाम्रो नेतृत्वमा देखिएन । दुःखका साथ भन्नु पर्छ मनमोहन अधिकारी बाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो ठहर भएकै छ । यो आरोप होइन, यथार्थ हो ।
उपमहासचिव शर्माले भने, ‘आज उत्पीडित जातिमाथिको अत्याचार के भइरहेको छ, पहिचानका मुद्दा जसरी हराइरहेका छन् । आज लाखौं लाख युवाहरू विदेशमा गएर विदेशको भूमिमा श्रम पसिना बगाइरहेका छन् ।’ उनले कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेका सरकारले जनतालाई के दियो ? भन्दै प्रश्न गरे ।
‘आज इतिहासको सबैभन्दा कटु प्रश्न हो यो । ९–९ पटक सरकारको नेतृत्व गर्दा हामीले के दियौं ? के बदल्यौं ? वा के गर्यौं ? यो गम्भीर प्रश्न छ । यो समाज परिवर्तनको नयाँ अभियानसँग सम्बन्धित प्रश्न हो,’ शर्माले भने । यो प्रश्नको उत्तर आजका कम्युनिष्ट पार्टीका व्यवहार र तरिकालाई फेर्न सक्छौं कि सक्दैनौं भन्ने मुख्य कुरा रहेको उनले बताए ।
शर्माले अहिलेका ऐन कानूनहरु दलाल पुँजीपतिको पक्षपोषण गर्ने र बम्हलुट गर्न टेवा पुर्याउने खालका रहेको भन्दै उनले सत्ताका लागि कम्युनिष्ट पार्टीले राज्य पुनसंरचनाको एजेण्डा छाडेको बताए। उनले नेपालका कम्युनिष्टले समाजवाद निर्माणको संवैधानिक दायित्व निर्वाह गर्न नसकेको स्वीकारे ।