मन्दिरमा हत्या गरिएका व्यक्तिको खुल्यो पहिचान


२०८२ श्रावण ६ मंगलबार २१:५२ बजे

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित  मधुगङ्गा महादेव मन्दिरमा सोमबार हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । 

हत्या गरिएका व्यक्ति भारतको सितामडी भवदेपुर–११ का पङ्कजकुमार भगत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनी मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । शव परीक्षणपछि उनको परिवारको जिम्मा लगाइने उनले बताए । मृतकका माइला दाजु रञ्जित भगतले सिन्धुली अस्पतालमा आएर मृतकको सनाखत गरेका हुन् । 

सोमबार बिहान उक्त स्थानमा करिब २५-३० वर्षको पुरुषको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा मृतकको छातीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए । प्रहरीले घट्नास्थलबाट धारिलो हतियार चुप्पी र खुर्पा बरामद गरेको थियो ।

प्रहरीका अनुसार पङ्कज साथीहरुसँग मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका सबै जना फरार रहेका र घटनामा संलग्नलाई चाँडै पक्राउ गरिने प्रहरी उपरीक्षक सुवेदीले बताए । घटनामा संलग्न व्यक्तिबारे किटानी जाहेरी आएको छ । भारतको विभन्न स्थानबाट बर्षेनि साउनको पहिलो सोमबार मधुगङ्गा महादेवको दर्शन गर्न यहाँ आउने गरेका बताइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७