बाहिर हल्ला गर्नुभन्दा संसदीय दलकाे नेता परिवर्तन गरेर देखाउन शेखरलाई देउवाको चुनौती
‘तपाईले कसैलाई सभापतिको ‘ग्रिन सिग्नल’ दिइसकेको हो ?’

काठमाडौं । सत्तारु नेपाली कांग्रेसका पाँच पूर्व पदाधिकारीले सभापति शेरबहादुर देउवालाई भेटेर अबको सभापतिका लागि कसैलाई ‘ग्रिन सिग्नल’ दिने काम भएको छ कि छैन भनेर चासो राखेका छन् । चाक्सीबारीमा हिजो भएको छलफलको निष्कर्ष सुनाउन मंगलबार बूढानीलकण्ठ पुगेका नेताहरूले सभापति देउवासँग करिब पौने २ घण्टा कुराकानी गरेका छन् ।
आफ्नो टिमबाट अबको सभापति उम्मेदवारबारे कसैलाई वचन दिएको अवस्था छ कि छैन भन्ने मुख्य चासो देउवा निकट पाँच पूर्व पदाधिकारीहरूको थियो । चाक्सीबारीमा पूर्व उपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शशांक कोइराला र प्रवक्ता प्रकाशशरण महतले सोमबार छलफल गरेर विभिन्न विषयमा सभापतिको ध्यानाकर्षण गराउने निर्णय गरेका थिए ।
मंगलबार सात पूर्व पदाधिकारीको प्रतिनिधित्व गर्दै पाँच पूर्व पदाधिकारी देउवा निवास पुगेका हुन् । पूर्व उपसभापति निधि इजरायलका राजदूतसँग भेटवार्तामा व्यस्त रहे भने पूर्व महामन्त्री कोइराला बिपी स्मृति दिवसमा सुन्दरीजल गएकोले बूढानीलकण्ठमा थिएनन् । कुराकानीको सुरूवात पूर्व उपसभापति गोपालमान श्रेष्ठले गरे। उनले नेपाली कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बन्ने बेला सभापति देउवालाई साथ दिएकोलगायत सुनाए ।
पार्टी फुट र देउवामाथि संकट आइपरेका बेला साथ दिएका नेताहरूलाई दुई पटकसम्म सभापति र पटक पटक प्रधानमन्त्री भइसकेका देउवाले चटक्क भुल्न नहुने कुरा श्रेष्ठले राखे । १५ औं महाधिवेशनका लागि देउवा समूह एकढिक्का राख्नुपर्ने, पहिलेदेखि दुःख गर्दै आएका र संकटमा देउवासँगै उभिएकालाई प्राथमिकता दिनुपर्ने कुरा श्रेष्ठको थियो । अबको सभापति उम्मेदवार चयन गर्नुअघि आफूहरूसँग परामर्श गर्नसमेत श्रेष्ठले सभापति देउवालाई सुझाव दिएका छन् ।
‘सभापतिजीले हामीसँग पनि परामर्श गर्नुपर्यो, हामी पार्टीमा सिनियर मानिसहरू हौं, तपाईंलाई पूरा सहयोग गर्दै आएका साथीहरू हौं, आगामी १५ औं महाधिवेशनका लागि सभापति देउबाबाट मैले ग्रिन सिग्नल पाइसकेँ भनेर केही हिँडिरहेका छन्, के हो त्यो कुरा ?,’ उपसभापति श्रेष्ठले सभापति देउवालाई सोधे । सभापति देउवाले तत्काल जबाफ दिए– मैले कसैलाई ग्रिन सिग्नल दिएको छैन। यसपछि श्रेष्ठले २०७८ सालमा भएको १४ औं महाधिवेशनको कुरा निकालेका थिए ।
‘म पनि १४ औं महाधिवेशनमा सभापति पदको आकांक्षी थिएँ । तपाईंले नै मलाई बालुवाटार बोलाएर तपाईंले १० औं महाधिवेशनदेखि नै सहयोग गर्नु भएको छ यसपालि पनि मलाई नै सहयोग गर्नुस् गोपालमानजी भन्नु भएको हो, १५ औंमा तपाईंलाई मेरो उम्मेदवार बनाउँछु भन्नु भएको थियो, त्यसबेला त्यहाँ दाइ–भाउजू नै हुनुहुन्थ्यो,’ श्रेष्ठले पुराना कुरा खोतल्दै देउवालाई भने ।
यसपछि विजयकुमार गच्छदार बोल्न थाले । ‘गोपालमान दाइ कार्यवाहक सभापति हुनुहुन्थ्यो, म महामन्त्री थिएँ, हामीले ११ औं महाधिवेशन गरेर तपाईंलाई निर्विरोध सभापति बनायौं । तर तपाईंले त्यतिबेला अलिकति स्पेश दिनु भएन, पदाधिकारी बनाउनु भएन । त्यसमा मलाई चित्त दुखेको थियो,’ गच्छदारले भने ।
गच्छदारलाई पनि देउवाले तत्काल जबाफ दिए– खोइ, त्यसबेला म जेलमा थिएँ, के–के भयो, धेरै कुरा मैले भुलेँ पनि ! बूढानीलकण्ठमा पालैपालो सबै नेताहरूले कुरा राखेका थिए। समसामयिक राजनीतिक घटनाक्रम, सरकारका काम कारबाही, सरकारका एक वर्षका काम र मन्त्रीहरूका मूल्यांकनलगायत विषयमा उनीहरूले सभापति देउवासँग कुरा राखेका थिए ।
सरकारले चुस्तदुरूस्त काम गर्नुपर्यो, भ्रष्टाचारमा जोडिएकाहरूलाई संरक्षण गरेको भन्ने सुनिन्छ, त्यसबाट उन्मुक्ति पाउनु पर्यो, राजनीतिक कार्यदलले पनि मुलुकको स्वार्थलाई हेर्नुपर्यो, यो गठबन्धन २०८४ सम्म जाओस् भन्ने इच्छा भए पनि एमालेसँग भएको सहमतिअनुसार ७ बुँदे कार्यान्वयन हुनुपर्यो भन्ने विषयमा उनीहरूले सभापति देउवासँग कुरा राखेका थिए ।
रूपन्देही ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा पनि कांग्रेसले विजय हासिल गर्ने गरी तयारी थाल्नुपर्ने उनीहरूको भनाइ थियो । छलफलमा प्रवक्ता प्रकाशशरण महतले चाक्सीबारी छलफललगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रमबारे सभापतिलाई ‘ब्रिफिङ’ गरिएको बताए ।
प्रवक्ता महतका अनुसार छलफलमा निजामती सेवा विधेयकमा राखिएको दुई वर्षे कुलिङ पिरियड, एमालेले राष्ट्रिय सभामा राखेको संशोधन, भूमि विधेयकलगायत विषय पनि उठेको थियो । ‘कुलिङ पिरियड २ वर्ष राख्ने सहमति भएको हो, त्यो राख्नै पर्छ भनेर सभापति ज्यूले पनि भन्नु भएको छ,’ उनले भने, ‘भूमि विधेयक पनि हतार गर्नु हुन्न, सबैको सहमतिले निष्कर्षमा पुगेपछि मात्र सदनमा अघि बढाउनुपर्छ भन्ने सभापति ज्यूको कुरा छ ।’
चाक्सीबारीमा सोमबार भएको छलफलमा नेता शेखर कोइरालाको पछिल्लो सक्रियता– प्रमुख प्रतिपक्षी दल नेता प्रचण्ड र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे पनि कुरा उठेको थियो। पूर्वमहामन्त्री शशांक कोइरालाले यस विषयमा चासो देखाएका थिए । मंगलबार शशांक देउवा निवासमा थिएनन् तर पनि त्यहाँ शेखरको पछिल्ला गतिविधिबारे नेताहरूले प्रश्न उठाए ।
‘राष्ट्रपति भइसकेको व्यक्ति फेरि पार्टीमा सक्रिय हुने कुरा संविधानको बर्खिलाप हो, गणतन्त्रलाई हसीउडाउनु जस्तै भएन र यो ?,’ पूर्वउपसभापति गोपालमान श्रेष्ठले भने, ‘हुन त यसबारे एमालेभित्र पनि छलफल चलिरहेको छ, आवश्यक निर्णय लिन्छ होला । हाम्रो शेखरजीले पनि पूर्व राष्ट्रपतिजीलाई अहिलेको परिस्थितिमा भेट्न हुँदैनथ्यो ।’
शेखरको प्रसंग आएपछि सभापति देउवाले ‘बाहिर धेरै हल्लाखल्ला गर्नुभन्दा संसदीय दल नेता परिवर्तन गरेर देखाउन’ भनेका थिए । २०७९ पुस ६ मा भएको संसदीय दल नेता निर्वाचनमा देउवाले ६४ र गगन थापाले २४ मत ल्याएका थिए । सभापति देउवाले गठबन्धन सरकारका विषयमा केही कुरा भए सार्वजनिक रूपमा बोल्नुअघि आफूलाई भने प्रधानमन्त्रीलाई सुनाएर समस्या हल गर्ने कुरा राखेका थिए ।
सभापति देउवाले बालुवाटार नै पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी पूर्वराष्ट्रपति एमाले राजनीतिमा फर्कन लागेकोमा ध्यानाकर्षण गराएका थिए भने नेपाली सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी विशेषको राजनीतिमा फर्कन मिल्दैन भनेका थिए ।
सभापति देउवा निकट ११ जना नेताहरू गत फागुन २ गते पनि सभापति देउवालाई भेटेर अबको सभापतिलगायत विषयमा कुराकानी गरेका थिए । एमालेसँग ७ बुँदे सहमतिअनुसार सभापति देउवा प्रधानमन्त्री बन्ने पालो कुर्दैछन् । २०८३ असारमा ओलीले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने सहमति छ । यसपछि मात्रै सभापति देउवाले १५ औं महाधिवेशन गर्ने तयारी गरेका छन् ।