कराँते खेलाडीको लाभलाग्दो कृषि कर्म


२०८२ श्रावण ५ सोमबार ११:१७ बजे

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक ओमराज मगरले ६ रोपनी बारीमा खुर्सानी खेती गरेका छन् ।

‘खुर्सानी लगाएको ठाउँमा झार पलाउन नदिनका लागि बोट उम्रने बाहेकका जमिनमा प्लास्टिकले छोप्ने मल्चिङ प्रविधि अपनाएको हो,’ उनले भने ‘प्लास्टिकले झार उम्रन नदिने र बिरुवाले पर्याप्त पोषकतत्व पाएर उत्पादन राम्रो हुने भएकाले तरकारी खेतीमा यस्तो प्रविधिको प्रभावकारी भएको छ ।’

समुद्री सतहदेखि २ हजार मिटर उचाइमा अवस्थित शिवाङमा यसअघि २ वर्ष परीक्षण गरेर यसपालीदेखि खुर्सानीको व्यावसायिक खेती सुरु गरेको उनले बताए । खुर्सानी खेतीका लागि उनले २ लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् ।

धवलागिरिमा यसअघि व्यावसायिक रुपमा अकबरे जातको खुर्सानी खेती नभएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक अमृत थापाले बताए । घरायसी प्रयोजनको लागि मात्र खुर्सानी खेती हुदै आएको थियो। बजारको सम्भावना भएकाले अकबरे खुर्सानी खेती गरेको किसान मगरले बताए ।

स्थानीय बजारमा प्रतिकिलो २ सय ५० रुपैयाँका दरले अकबरे खुर्सानी बिक्री हुन्छ । म्याग्दीमा हाल तराई र पूर्वी पहाडी जिल्लाबाट अकबरे खुर्सानी आयात हुने गर्छ । दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।

३० वर्षीय मगरले वैदेशिक रोजगार र परम्परागत खेतीको विकल्पमा खुर्सानीका साथै किबी खेती, कुखुरा र बाख्रापालन गरेर स्वरोजगार बनेका छन् । मगर कराते खेलका खेलाडी हुन । उनको बगैँचामा ७० किबीका बोट छन् । गत वर्ष ३ हजार किलोग्राम किबी बिक्री गरेका थिए । रासस

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७