मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्री सतहदेखि चार हजार १०० मिटर उचाइमा रहेको आधार शिविरमा खुला सङ्ग्रहालय स्थापना गरेको हो ।
आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । अन्नपूर्ण गाउँपालिकाको रु ६० लाख बजेटबाट उक्त पूर्वाधार निर्माण गरिएको वडा सदस्य श्याम पुर्जाले जानकारी दिए । फुटफुटे झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन भएको छ । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ । गुफाफाँट र आधार शिविरमा एक÷एक वटा शौचालय निर्माण भएका छन् ।
हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको वडा सस्दय पुर्जाले जानकारी दिए । आधार शिविरमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका तीन सय जनाभन्दा आरोहीहरुको नाम उल्लेख गरेको ताम्रपत्र राखेर खुला सङ्ग्रहालय बनाइएको छ ।
सङ्ग्रहालयसँगै अन्नपूर्णका प्रथम आरोही फ्रान्सका नेपाली मौरिज हर्जोग, लुई लचेनल र नेपालका सोनाम वालुङ शेर्पाको सालिक राखिएको छ । पूर्वाधार विस्तार र मर्मतसँगै अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई सहज भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए ।
मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ ।
७० वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामारण र पदमार्ग सञ्चालन गरेको थियो । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुटफुटे झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङ्गको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।