सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि


१७:३५ बजे

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आज (शनिबार) भएको फाइनलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि जोय थापाले अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।
अभय यादव १० रनमा अविजित रहे। नवौँ विकेटका लागि जय र अभयले २५ रनको साझेदारी गरेका थिए । विकेट किपर शिवांश बजगाईंले २० रन बनाए भने शुभम् खनालले १८ रन थपे ।

प्रसिद्ध जैसीले १७ तथा परिमार्जन यादवले १३ रन बनाए । रौनक श्रीवास्तव शून्य र सुगम बुढाथोकी १ रनमा आउट भए । यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो । सिङ्गापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसक्रममा उनले ८४ बलको सामना गरे । रिहान नाइकले १५ रन बनाए ।

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले पनि ३÷३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल हालसम्म प्रतियोगितामा अपराजित छ । सिङ्गापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । 

नेपालले पहिलो सेमिफाइनलमा मलेसियालाई हराएको थियो भने सिङ्गापुरले अर्को समूहको विजेता टोली हङकङलाई हराएको थियो । प्रारम्भिक चरणमा नेपाल र सिङ्गापुर एउटै समूहमा थिए । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । समूह ‘ए’ बाट नेपाल चारवटै खेल जित्दै आठ अंकसहित पहिलो र सिङ्गापुर दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । जारी प्रतियोगितामा नेपाली टोलीले हालसम्म सबै खेल जित्यो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७