प्रधानमन्त्रीको आदेशमा सभामुखले निजामती विधेयक रोक्नु भयो : शेखर कोइराला

‘कांग्रेसभित्रको निराशा हटाउनु पर्छ’


२०८२ असार ८ आइतबार ०२:३३ बजे

तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको निराशा हटाउनुपर्ने बताएका छन्।नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँले आज दमौलीमा आयोजना गरेको स्मारिका विमोचन एवं सम्मान कार्यक्रममा कोइरालाले पार्टीका कार्यकर्ता निराश रहेकाले निराशालाई आशामा बदल्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको बताए। 

पार्टी विधानबमोजिम अगाडि बढ्न नसकेको बताउँदै नेता कोइरालाले पार्टीलाई विधानबमोजिम हिँडाउने अभियानमा आफू लागिपरेको जिकिर गरे। उनले भने, ‘पार्टी विधानबमोजिम चलेको छैन। भ्रातृ संस्थाको अधिवेशन समयमै भएका छैनन्। पार्टीको महाधिवेशन पनि निर्धारित मितिमै हुन्छ कि हुँदैन भन्ने आशंका छ।’ पार्टीलाई विधानबमोजिम अगाडि बढाउन सके मात्रै नेता तथा कार्यकर्ता उत्साहित हुने बताउँदै नेता कोइरालाले विसं २०८३ मङ्सिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताए । त्यसका लागि देशभरका कार्यकर्ताले दबाब दिनुपर्ने उनको भनाइ थियो। 

भ्रष्टाचार अन्त्य र सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्न सक्ने बताउँदै सरकारले त्यसमा निमर्मतापूर्वक काम गर्नुपर्ने डा. कोइरालाले बताए। उनले भने, ‘भ्रष्टाचार र कुशासनले मुलुक पछाडि परेको छ। जबसम्म यो सुध्रिदैन देश विकास हुन सक्दैन।’ दैलेखमा ग्यास भेटिएको खबरले सकारात्मक सञ्चार प्रवाह गरेको भन्दै कोइरालाले त्यसको सही सदुपयोग हुनुपर्ने बताए। 

नेता कोइरालाले देशको हरेक परिवर्तनमा प्रजातन्त्र सेनानीको महत्वपूर्ण भूमिका रहँदै आएको बताए। पार्टीले प्रजातन्त्र सेनानीका योगदानलाई कहिल्यै नबिर्सने उल्लेख गरे। नेता शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भए पनि सत्तामा नभएको बताएका छन्। ‘तपाईंले सामाजिक सञ्जालमा जति न्यूज पढिराख्नु भएको छ, त्यसले के बुझिन्छ भने सरकारमा चाहिँ हामी छौँ,’ कोइरालाले भने, ‘केन्द्रीय सरकारमा पनि छौं। गण्डकी प्रदेशमा त हाम्रै नेतृत्वमा सरकारमा छ। तर सत्तामा छैनौं।’

प्रजातन्त्रमा संरचनाहरुले काम गर्ने भन्दै त्यस्ता संरचनामा पनि आफूहरु नरहेको उनले जिकिर गरे। ‘प्रजातन्त्रमा संरचनाहरूले काम गरिरहेको हुन्छ,’ कोइरालाको भनाइ छ, ‘त्यो संरचनामा को–को छन्, हामी देख्दैनौँ प्रजातन्त्रवादीहरू। हामी त्यहाँ बामपन्थीहरु मात्रै देख्छौं।’

आफूहरू सत्तामा नरहेकै कारण निजामती विधेयक ल्याउन नसकिरहेको उनको भनाइ छ।  ‘तपाईंहरुले अर्को विचार गर्नुहोस्, संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड भनेर पास गर्‍यो,’ कोइराला भन्छन्, ‘तर, प्रधानमन्त्रीको आदेशमा सभामुखजीले त्यसलाई (निजामती विधेयक) लाई एजेन्डामा ल्याइ रहनु भएको छैन । हामी सत्तामा भएको भए हामी ल्याउँथ्यौं।’

प्रधानमन्त्रीले कसको लागि विधेयक रोकिरहेको भन्दै उनले प्रश्न समेत गरे। ‘नेपाली कांग्रेस, एमालेका सांसदहरू, माओवादीहरू, मधेसका दलका सांसदहरू सबैले एकमतले कुलिङ पिरियड लागू गर्नुपर्छ भनेका छन्,’ कोइरालाले भने, ‘प्रधानमन्त्रीजीको हठ किन ? के को लागि ? कसको लागि ?’

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले भ्रष्टाचार अन्त्यका लागि पार्टीले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए। कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीको आन्तरिक जीवन व्यवस्थित बनाउनुपर्ने धारणा राखे। केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधान विरोधी तत्वलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याए। प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहालले पार्टीका हरेक तहमा सेनानीलाई आरक्षणको व्यवस्था हुनुपर्ने बताए। कार्यक्रममा ११ जना प्रजातन्त्र सेनानीका परिवारलाई सम्मान गरिएको थियो। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७