कारागारबाट रवि लामिछानेको अपिल : प्रदेश खारेज र संविधान पुनर्लेखन गरौं

काठमाडौं । पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रदेश खारेज र संविधान पुनर्लेखन गर्नुपर्ने बताएका छन्। आज (शनिबार) पार्टी स्थापना दिवसको अवसरमा कारागारबाट सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताएका हुन्।
‘भ्रष्टहरुको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ,’ उनले सन्देशमा भनेका छन्। त्यसमार्फत सबै उच्च पदस्थ र २०४६ सालयताका सबै क्याविनेटका निर्णयको पनि छानबिन हुनुपर्ने बताएका छन्। लामिछानेले संसदीय अस्थितरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्थामा जानुपर्ने पनि बताए।
‘प्रदेशसभा खारेज हुनुपर्छ । राष्ट्रियसभालाई चुनाव हारेका नेता र आफन्त होइन, विद्वानहरुको सभा बनाउनु पर्छ।नेताहरुले खेलौना र भर्तीकेन्द्र बनाएका सबै संवैधानिक अंगहरुको एकसाथ पुनर्संरचना गर्नुपर्छ । विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्याउनु पर्छ। दलैपिछेका भ्रातृ संगठनलाई पूर्णरुपमा खारेज गर्नुपर्छ । राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ,’ सन्देशमा लामिछानेले भनेका छन्।
‘सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ,’ उनले भनेका छन्।लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्। जेलबाटै उनले सन्देश तयार पारेर पठाएको लामिछानेको सचिवालयले जनाएको छ।