इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

काठमाडौँ । इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनेईले मंगलबार मध्यरात इजरायलविरुद्ध युद्धको घोषणा गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘युद्ध सुरु हुन्छ। हामी आतंकवादी इजरायललाई कडा जवाफ दिन्छौं। उनीहरुविरुद्ध हामी कुनै दया देखाउने छैनौं।’ उक्त घोषणा लगत्तै इरानले इजरायलमाथि २५ मिसाइल प्रहार गर्यो ।
इरानी मिडियाका अनुसार इरानको सैन्य शाखा आईआरजीसीले बुधबार बिहान इजरायलमा फतह मिसाइल प्रहार गरिएको थियो। यो पहिलो पटक हो युद्धमा फतह–१ को प्रयोग गरिएको । फतह मिसाइल हाइपरसोनिक हो। यो आवाजको गतिभन्दा पाँच गुणा तीव्र उड्छ। आईआरजीसीका अनुसार फतह मिसाइलले इजरायलको डिफेन्स सिस्टमलाई भेद्दै अन्य सुरक्षित क्षेत्रलाई पनि निशाना बनाएको छ।
यद्दपि इजरायलमा यो मिसाइलबाट कति क्षति भयो भन्ने आधिकारिक जानकारी अहिलेसम्म प्राप्त भएको छैन। यसैबीच अमेरिकाको ह्यूमन राइट्स ग्रुपले इजरायलको आक्रमणमा परी इरानमा अहिलेसम्म ५८५ जनाको मृत्यु भएको दाबी गरेको छ। इरान सरकारले अहिलेसम्म मृतकहरुको पूरा जानकारी सार्वजनिक गरेको छैन। सोमबार दिएको जानकारी अनुसार २२४ जना मारिएका छन् भने १२ सय ७७ जना घाइते छन्। यता इजरायलमा भने इरानको आक्रमणमा परी २४ जना मारिएका छन्।