रास्वपालाई योगेश भट्टराईको सुझाव : छिटो बन्यो, छिट्टै बिग्रँदैछ, ख्याल गर्नुहोला
‘तीतो नमान्नु होला, सदन भन्दा मन्त्रीहरूको अरू महत्वपूर्ण काम के हुन्छ ?’

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्थापना दिवसको अवसरमा कटाक्षयुक्त शुभकामना दिएका छन्। आज (शनिबार) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले रास्वपा छिट्टै बनेको र छिट्टै बिग्रन लागेको समेत टिप्पणी गरे।
‘आज रास्वपाको स्थापना दिवस हो, उहाँहरुलाई एकदमै शुभकामना व्यक्त गर्न चाहन्छु,’ भट्टराइले भने, ‘उहाँहरुले अरु पार्टीमाथि टिप्पणी उठारहनु भएको छ–कांग्रेस बिग्रियो, एमाले बिग्रियो। म उहाँहरुलाई भन्न चाहन्छु–हामी त बन्न पनि समय लाग्यो । बिग्रेछौं भने पनि समय लाग्छ । तपाईंहरु त छिट्टो बन्नु भयो, छिट्टै बिग्रदै हुनुहुन्छ। त्यो ख्याल गर्नुहोला। समीक्षा गर्नुहोस् राम्रोसँग।’
रास्वपाले संसदमा भाग समेत नलिएको भन्दै भट्टराईले संसदप्रति विश्वास छ कि छैन ? भनेर प्रश्न समेत गरेका छन्। ‘संसद्मा दुईवटा राजनीतिक दलका साथीहरु यो संसद्मा भाग लिइरहनु भएको छैन, संसदमा हामी भाग लिँदैनौं। छलफल गर्दैनौं बिनियोजन विधेयक, नीति कार्यक्रममा भने गम्भीर प्रश्न के उठ्छ भने संसद्प्रति उहाँहरुको विश्वास छ कि छैन ?’
सांसद भट्टराईले बजेटमाथि मन्त्रालयगत छलफल हुँदा सम्बन्धित मन्त्रीहरू नै सदनमा नआएकोप्रति असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा १० वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको छ । छलफलमा भाग लिँदै उनले भने, ‘आज एक दिनमा १० वटा मन्त्रालयको छलफल चलिरहेको छ। हामी सदनमा प्रभावकारी भूमिका खेल्नुपर्छ भन्नेमा छौँ । हिजो र अस्ति केही मन्त्रीहरू आउनुभएन। थपिँदै जाँदा आज १० वटा पुग्यो, मन्त्रीहरूलाई भन्न चाहन्छु, संसदमा विनियोजन शीर्षकमा छलफल भइरहेको बेलामा, त्योभन्दा महत्त्वपूर्ण काम के होला तपाईंहरूको ? जसले गर्दा यहाँ नआएर अन्तै जानुभयो । यो निकै गम्भीर प्रश्न छ।’
सांसद भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार भने पनि मन्त्रीहरूलाई प्रधानमन्त्री र संसदप्रति जिम्मेवार हुनुपर्छ भनेको बताए। उनले थपे, ‘जब हामी समिति वा सदनमा आफूले प्रस्तुत गरेको विधेयकमाथि गम्भीर भएर छलफलमा भाग लिँदैनौँ भने हामी गर्छौँ के त ? तीतो नमान्नु होला, आज पनि मन्त्रीहरू नआएकै कारणले एक घण्टा पछि हामीले सदन सुरु गर्यौँ । यो गम्भीर जवाफदेहिताको कुरा हो।’