रास्वपाको प्रश्न : सदनमा रातो मफलर लगाउन पाउने, निलो नपाउने ?

‘हाम्रो निलो रिवन कहाँनेर भयो अभद्र ?’


२०८२ असार ३ मंगलबार २१:४२ बजे

काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले संसदमा निलो रिवन लगाउनु अमर्यादित नहुने बताएका छन्। प्रतिनिधि सभा बैठक स्थगित भएपछि सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा लेख्दै सांसद झाले निलो रिवन–सल लगाउँदा संसदीय मर्यादा नतोडिने बताएका छन्।

उनले विगतको संसद वैठकमा नेकपा एमाले र नेकपा माओवादीका शीर्ष नेताहरुले रातो मफ्लर लगाएको तस्वीरहरु सार्वजनिक गर्दै प्रश्न गरेका छन्–सदनमा रातो मफलर लगाउन पाउने, निलो नलगाउ भन्ने कुन नियमावलीले भन्छ ? भिजिट भिसामा मानव तस्करीको विरोध स्वरुप आज रास्वपाका सांसदहरु गलामा निलो रिवन लगाएर संसदमा उपस्थित भएका थिए । रास्वपा सांसदहरु निलो रिवन गलामा भिरेर संसदमा आएपछि सत्ता साझेदार नेपाली कांग्रेसले पोसाक अमर्यादित भएको भन्दै रास्वपा सांसदहरुलाई निष्कासन गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए। मंगलबार संसदमा निलो रिवन लगाएर उपस्थित भएको विषयमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नियमापत्ति जनाएका थिए। 

‘उहाँहरू सबै स्कार्फ बाँधेर आउनु भएको छ। यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ? जे पनि लगाएर आउने गर्न थालियो भने भोलि कोही हाफ प्यान्टमा आए भने ?,’ उनले प्रश्न गरेका थिए।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरिरहेको रास्वपाका सबै सांसदहरूले निलो रिवन लगाएर संसद पुगेका थिए। उनीहरूले संसद सुरू भएपछि वेल घेरेर नाराबाजी गरेपछि बैठक स्थगित भएको थियो। भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले सत्तापक्षसँग दुई बुँदे सहमति गरेर संसद खोल्न तयार भए पनि रास्वपाले अवरोध जारी राखेको छ। यस्तै रास्वपाकी सांसद तोसिमा कार्कीले संसदमा निलो सल लगाउनु अमर्यादित नहुेन बताएकी छन्। 

प्रतिनिधी सभा बैठक स्थगित भएपछि संसद भवन परिसरमा पत्रकारहरूसँगको कुराकानीमा सांसद कार्कीले सल लगाउँदा संसदीय मर्यादा नतोडिने बताइन्् । ‘हामीले गर्ने अबको क्रान्ति भनेको यस्तै किसिमको निलो शान्त विद्रोह बौद्धिक क्रान्ति हो । रचनात्मक ढंगले सांकेतिक रूपमा खबरदारी गर्दा आवज उहाँहरूको सात्तोपुत्लो उडेको छ,’ उनले भनिन्, ‘हामी प्रश्न गर्न चाहन्छौं हामीले आज सल लगाएर आउँदै गर्दा कहाँ निर अभद्र भयो ? हाम्रो आन्दोलन जारी छ।’

उनले आफूहरू हिंसाको पक्षमा नरहेको भन्दै अहिले शान्त विद्रोह गरेको पनि बताए। सरकारले मौलिक हकलाई नै बेवास्ता गरी गिरोह बनाएर भिजिट भिसामा मानिसहरू पठाउने गरिएको बताएकी छन्। ‘यी तमाम हकलाई बेवास्ता गरेर जालो नै क्रिएट गरेर गृह मन्त्रालयको सचिवालय स्वयम् आवद्ध भएर अध्यागमन विभागदेखि  ट्राभल एजेन्सी म्यानपावर सबैलाई तानिने गरी ठूलो गिरोह छ। यसमा छानबिन हुनुप¥यो, उच्चस्तरीय छानबिन समिति भनेका छौं,’ उनले भनिन्। अहिले गृहमन्त्रीको सचिवालयमै रहेका व्यक्ति मुछिएका खबर आइरहेकाले सरकारले छानबिन गर्न नसक्ने भएकाले  समिति बनाएर छानबिन गर्नुपर्ने अडान राखेको उनले बताइन्।
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७