सत्तारुढ दलहरू एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढे : महासचिव गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले मुलुकमा विद्यमान समस्या राज्यसत्ताको सर्वसत्तावादी प्रवृत्तिका कारण उत्पन्न भएको आरोप लगाएका छन् । आज (मंगलबार) काठमाडौंमा बेपत्ता पारिएका नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव गुरुङले राज्यको नेतृत्वकर्ताहरू शान्ति र मेलमिलापको विरोधमा क्रियाशील रहेको उनको आरोप छ।
उनले देशलाई द्वन्द्वग्रस्त क्षेत्र बनाएर नेपाललाई सामरिक क्रिडास्थल बनाउने गम्भीर षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त समेत गरे। दलीय स्पर्धाको नाममा सत्तामा रहेका दलहरु एकअर्कालाई सिध्याउने र ध्वंस गर्ने मानसिकताले अघि बढिरहेको समेत आरोप लगाएका छन्। महासचिव गुरुङले सर्वसत्तावादी तथा एकाधिकारवादीले कतै पनि शान्ति स्थापना हुन नदिने, मेलमिलाप कायम गर्न नदिने सोचका साथ अघि बढिरहेको टिप्पणी गर्दै सबै सचेत हुने बेला आएको समेत बताए।