बजेटका बेला संसदीय समितिमा विधेयकको छलफल नगरौं : नागिना यादव

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेटको समयमा संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छन्। आज (मंगलबार) सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले समयको चापलाई हेरेर समितिको बैठक राख्न आग्रह गरिन्। समितिमा आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बधमा संशोधन प्रस्तावकर्ता सदस्यसँग छलफल थियो।
संसद् बैठक पनि आज नै बस्ने र बजेट छलफल गर्नुपर्ने भएकाले बजेट सेसनमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन्। ‘समयको व्यस्ततालाई हेरौं, समयको पावन्दी पनि हेरौँ । बरु बिदाको दिन बोलाउनुस्, हामी आउँछौँ । तर, बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ता पनि आउनु हुन्न। हामीले पनि जति महत्व दिनुपर्ने हो त्यो दिन सक्छौँ कि सक्दैनौं’, उनले भनिन् । उनले समितिमा पनि विधेयकलाई राम्रो बनाउन आवश्यक समय दिन नसकिने स्पष्ट पारिन्।