आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । रौतहट बमकाण्डका आरोपित नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ। बम काण्डमा मारिएका त्रिलोकप्रताप सिंह (पिन्टु) का बाबु श्रीनारायण सिंह राजपुतले न्यायपरिषद्मा उजुरी दिएका हुन्। उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको कार्यक्षमता र आचरणमा प्रश्न उठाउँदै सोमबार उजुरी दिएका हुन्।
रौतहट जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा ०८१ वैशाख ३ गते आलमसहितलाई जन्मकैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध आलमले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा पुनरावेदन दिएका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै गत जेठ १४ गते थारु र महर्जनको इजलासले जेलमुक्त हुने आदेश गरेका थिए । २०६४ सालको बम विस्फोटको घटनामा त्रिलोकप्रताप सिंह पनि मारिएका थिए। उनको मृत्युपछि बाबु श्रीनारायण सिंह १८ वर्षदेखि निरन्तर न्यायका लागि संघर्षरत छन्। उच्च अदालतले प्रमाणको उचित मूल्यांकन नगरी आलम लगायतलाई सफाइ दिएको भन्दै चित्त दुखाएका उनी रौतहटबाट काठमाडौं आएर कानून व्यवसायीहरुको सहयोगमा परिषदमा उजुरी दिएका हुन्।