अनेरास्ववियुमा प्यानलको तयारी : प्रकाश पौडेलको समूहबाट महासचिवमा आरके रोमश

काठमाडौं । सत्तारुढ नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुको नेतृत्वमा सहमति नजुटेपछि प्यानल बनाएर चुनाव लड्ने तयारी गरेका छन्। जारी महाधिवेशनमा पार्टी नेतृत्वको निर्देशन लत्याउँदै निर्वाचनमा होमिएका अनेरास्ववियुका नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिँदै छन्। कीर्तिपुरमा जारी नेतृत्व चयन प्रक्रिया ढिलोगरी चलिरहेको छ। हिजै साँझ दर्ता भएको उम्मेदवारहरूको नामावली प्रकाशन अहिलेसम्म पनि गरिएको छैन। जबकि आज बिहान ८ बजेदेखि मतदान हुने तालिका प्रकाशित भएको थियो ।
उम्मेदवारी दर्ता भए पनि अझै पनि सर्वसम्मतिको प्रयत्न गर्न निर्वाचन प्रक्रिया अगाडि नबढाइएको हो। तर अध्यक्ष पदमा उम्मेदवारी दिएका प्रकाश पौडेल र सुजन कडरिया दुवैले दाबी छोडेका छैनन्। अध्यक्ष मण्डलकै तर्फबाट कडरियाको नेतृत्वमा हिजो साँझ केही पदाधिकारी प्रस्ताव गरिएको थियो। प्रस्तावमा प्रकाश पौडेललाई उपाध्यक्ष, अञ्जना शिवाकोटीलाई महिला उपाध्यक्ष र दीपक धामीलाई महासचिव भनिएको थियो। तर, उक्त प्रस्तावप्रति असहमति जनाउँदै निर्वाचनको मागसहित हलमै नाराबाजी भयो । यसपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको हो। निर्वाचन प्रक्रिया अगाडि नबढाइएपनि उम्मेदवारहरूले आफ्नो पक्षमा मत मागिरहेका छन्।
कडरियाको पक्षमा उपाध्यक्ष र महासचिवको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट सार्वजनिक गरिएकाले पौडेल पनि आफ्नो प्यानल बनाउन लागेका छन्। पौडेलको प्यानलबाट महासचिव आरके रोमश निश्चित भएका छन्। उपमहाचिवमा कमल जोशी छन् । महिला उपाध्यक्षमा आरती भट्टराई हुने सम्भावना रहेको बताइएको छ । निवर्तमान सचिव भट्टराई अध्यक्ष पदकै दाबेदार थिइन् । तर अध्यक्षबाट पछि हटेर उनले महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी छन्। पौडेलको प्यानलबाट अरु पद पनि मिलाउने प्रयत्न भइरहेको नेताहरूले बताएका छन्।