देउवा पुत्र जयवीरविरुद्ध ‘स्ट्याटस’ लेख्ने राप्रपा युवा नेता केसीविरुद्ध मुद्दा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु देउवाका पुत्र जयवीरसिंह विरुद्ध स्टाटस लेखेका राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीविरुद्ध मुद्दा दायर गरिएको छ।
हिल्टन होटलसँग सम्बन्धित प्रसंगमा ‘भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च’ भन्दै स्ट्याटस लेखेर साइबर अपराध गरेको भन्दै अदालतमा मुद्दा दर्ता गरिएको हो। अधिवक्ता समेत रहेका केसीले त्यसबारे स्ट्याटस लेखेर विद्युतीय अपराध ऐन, २०६३ को दफा ४७ विपरितको कसुर गरेको निष्कर्षसहित सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।
नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानपछि तयार रायसहितको प्रतिवेदनका आधारमा बिहीबार अदालतमा मुद्दा दायर भएको एक अधिकृतले जानकारी दिए । अदालतमा दायर यो मुद्दामा जाहेरवालाको नाम उल्लेख छैन । नाम परिवर्तन गरेर ‘साइबर ब्यूरो ५५’ ले स्ट्याटसले आफ्नोविरुद्ध घृणा, द्वेष फैलाउने कार्य गरेर चरित्र हत्या गरेको भन्दै अनुसन्धानका लागि निवेदन प्राप्त भएको अभियोग पत्रमा उल्लेख छ।
प्रहरीले उनलाई यो विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा समेत राखेको थियो। तर, ६ दिनपछि सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै उनलाई छाड्न आदेश दिएको थियो। सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा केसीले देशमा मौलाउँदो भ्रष्टाचार, आर्थिक संकट, युवा पलायन लगायतलाई मध्यनजर गरेर नेपाली नागरिकको रुपमा मन खिन्न भएको विषयबारे स्ट्याटसमा लखेको भनेका छन्।
‘सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत केही मिडियाहरुमा समेत नेपालको पाँचौं पटक प्रधानमन्त्री भइसकेको पविारका सदस्यले ९ अर्ब बढी मूल्य पर्ने हिल्टन नामक होटल खरिद गरेको विषय थाहा पाएपछि मैले फेसबुकमा स्ट्याटस लखेको थिएँ’, उनले भनेका छन्, ‘पछि उक्त घट्ना सत्य नहुन पनि सक्छ भन्ने मलाई लागि डिलिट समेत गरिदिएको थिएँ।’
प्रहरीले उनको यो बयान, अम्मरबहादुर रावल नामक व्यक्तिले गरेको कागजका आधारमा केसीमाथिको अभियोग पुष्टि हुने भन्दै मुद्दा चलाउन रायसहितको प्रतिवदेन दिएको थियो। हिल्टनसँग सम्बन्धित विषयमा समाचार प्रशारण गरेपछि पत्रकार दिलभूषण पाठकविरुद्ध समेत साइबर ब्यूरोमा निवेदन परेको छ। त्यसको आधारमा प्रहरीले पक्राउ पूर्जी समेत लिइसकेको छ। ‘उहाँविरुद्ध निवेदन परेकाले अनुसन्धान गरिरहेका छौं’, ब्यूरोका एसएसपी नविन्द अर्यालले भने, ‘यो निवेदनमा उहाँको खोजी भइरहेको छ, अरु कोही पक्राउ पर्नु भएको छैन।’
यस्तो थियो केसीको स्टाटस
भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु देउवाका छोरा जयवीर सिंह देउवाले काठमाडां नक्साल स्थित हिल्टन होटल खरिद गरेका छन्।
यो स्टाटस केही समयपछि उनी आफैंले हटाएका थिए। आफूले सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायत केही मिडियाबाट जयवीरले ८ अर्बभन्दा बढी मूल्य पर्ने होटल खरिद गरेको थाहा पाएपछि यसप्रति असन्तुष्टि जनाउन स्टाटस लेखेको बयान केसीले प्रहरीलाई दिएका छन्। यद्यपि, उक्त समाचार सत्य नभएको कुराहरु आएपछि आफूले स्टाटस हटाएको उनको भनाइ छ।
जयवीरको उजुरी प्रहरीमा आइपुग्दा केसीले स्टाटस हटाइसकेका थिए । प्रहरीले अम्मर बहादुर रावल नामका व्यक्तिलाई केसीको स्टाटस देखेको भन्दै प्रत्यक्षदर्शीको रुपमा अभियोगपत्रमा समावेश गरेको छ। केसीलाई पक्राउ गरेपश्चात प्रहरीले उनको मोबाइल फोन नियन्त्रणमा लिएको थियो। अहिलेसम्म पनि सो फोनको फरेन्सीक परीक्षण नसकिएको अभियोगपत्रमा उल्लेख छ।
सबैतिर आइरहेको विषयमा मामूली स्टाटस लेखेको आधारमा मुद्दा हालेर सरकारले राज्यआतंक सिर्जना गर्न खोजेको बताउँछन् राप्रपा प्रवक्ता मोहन श्रेष्ठ। ‘सरकारको यो कदम अभिव्यक्ति स्वतन्त्रता र नागरिकको नैसर्गिक अधिकार विरुद्धमा छ, हामी घोर भत्र्सना गर्छौं’, उनले भने। समाचार प्रशारण गर्दा पत्रकार दिलभुषण पाठकलाई पक्राउ पूर्जि जारी हुनु र स्टाटस लेख्दा सुजित केसीमाथि मुद्दा हालिनुले सरकारको सर्वसत्तावादी रवैया छताछुल्ल भएको र लोकतन्त्रको धज्जी उडेको श्रेष्ठको भनाइ छ।