कांग्रेस प्रवक्ता महत भन्छन्–रास्वपासँग संसद अवरुद्ध गर्ने मुद्दा नै छैन


२०८२ असार ३ मंगलबार १७:५८ बजे

बागलुङ । सत्ता साझेदार नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपाले कुनै मुद्दा बिना नै संसदमा नाराबाजी गरिरहेको बताएका छन्। नेपाल प्रेस युनियन बागलुङले मंगलबार बिहान बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले रास्वपाले बिनाकारण संसद् अवरुद्ध पार्ने प्रयास गरिएको बताए। ‘संवैधानिक निकायले कर्मचारीमाथि छानबिन गरिररहेको छ, गृहमन्त्रीलाई आरोपित गरेको पनि छैन,’ उनी भन्छन्, ‘कर्मचारीमाथि अनुसन्धान चल्दा मन्त्रीले राजीनामा दिन थाल्ने हो भने देश चल्न सक्दैन। उहाँहरूको सभापति रवि लामिछाने र अहिले केश नितान्त फरक हो।’

त्यति बेला गृहमन्त्रीमाथि प्रहरीले छानबिन गर्न नसक्ने भएकाले आफूहरूले संसदीय छानबिन समिति माग गरेको तर गृहमन्त्रीको राजीनामा नमागेको उनले स्मरण गरे। ‘अख्तियार अनुसन्धान आयोग स्वायत्त निकाय हो, यसले कर्मचारीमाथि छानबिन गरिरहेको छ, यसमा गृहमन्त्री ओरोपित हुनुहुन्न,’ उनले भने। प्रवक्ता महतले अहिले सरकारले सही बाटो समातेको र यसलाई गति दिन आवश्यक रहेको बताए। ‘हामी सबैको संकल्प आर्थिक समृद्धि हो र हुनुपर्छ,’ उनले भने, ‘अहिले बजेटले केही संकेत गरेको छ। तर जति हुनुपथ्र्यो त्यो भएको छैन। अब कनिका छरे जसरी बजेट छरेर देशको विकास हुँदैन।’

गठबन्धन सरकार भएकाले प्रधानमन्त्रीले अलि बढी भूमिका खेल्नुपर्ने बताए । ‘कुनै पनि दलको बहुमत नपुग्ने भएपछि गठबन्धन सरकार हामी छौं,’ उनी भन्छन्, ‘गठबन्धन भनेकै आधा आधा कुरा हुने हो । सबै हामीले भनेको हुँदैन। केही नहुनु भन्दा आधा भए पनि होस् भनेर नै हामीले काम गर्ने हो। गठबन्धन गर्दा गरिएका केही प्रतिबद्धता कार्यान्वयन नहुँदा आलोचना गर्नेहरूलाई बल मिलेको छ ।’ उनले आवश्यकताको आधारमा संविधान संशोधनलाई आपसी छलफलबाट अगाडि बढाउनुपर्ने बताए। ‘संविधान संशोधनका लागि दुई तिहाई आवश्यक पर्छ। कांग्रेस एमालेले मात्र सम्भव हुँदैन। हामीले संविधान कार्यान्वयनमा भएका समस्याहरूको पहिचान गरेर अगाडि बढ्नुपर्छ,’ डा. महतले भने।

उनले अब नतिजा निस्किने गरी काम गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । पूर्व अर्थमन्त्री समेत रहेका महले देशलाई प्राथमिकतामा राखेर सबैले काम गर्नुपर्ने बताए। ‘पार्टीमा व्यक्ति गौण कुरा हो भने देशको अगाडि पार्टी गौण कुरा हो,’ उनले भने, ‘देश जनतालाई प्राथमिकता राख्ने कुरालाई पार्टी छाडेर अगाडि बढ्न सक्नुपर्छ ।’ संसदलाई अभिनय गर्ने थलोको रुपमा लिन नहुने उनी बताउँछन्। ‘संसदमा जनतको आवश्यकता र समस्याको बहस र छलफल गरेर समाधान निकान्लु पर्छ,’ उनले भने, ‘संसदलाई एक्ट गर्ने ठाउँ बनाउनु हुँदैन।’  

देशको आर्थिक विकासका लागि आईटी र स्वरोजगार मूलक क्षेत्रमा युवालाई प्रेरित गर्नुपर्ने उनको भनाइ छ । ‘अहिले आईटी क्षेत्रमा युवाहरूको आकर्षण छ, उनीहरूलाई थप प्रोत्साहन गर्नका लागि विशेष व्यवस्था गर्नुपर्छ,’ उनले भने। साविकको धौलागिरि क्षेत्र प्राकृतिक रूपमा निकै सुन्दर र धार्मिक रूपमा प्रसिद्ध रहेकाले पर्यटकीय क्षेत्रको रूपमा पहिचान दिलाउन सबैले भूमिका खेल्नुपर्ने बताए । ‘मुक्तिनाथ दामोदारकुण्डदेखि यहाँको पञ्चकोट, कालिका मन्दिरसम्मका क्षेत्रले पर्यटकलाई आकर्षित गरेका छन्,’ उनी भन्छन्, ‘यसको प्रचार प्रसार र प्रवद्र्धनका लागि सरकार र यहाँको नागरिकले पनि भूमिका खेल्नुपर्छ ।’

फरक प्रसङ्गमा उनले पार्टीको अहिले तयारी नपुगेकाले आगमी मंसिरमै महाधिवेशन हुने अवस्था नरहेको स्पष्ट पारे। ‘नेपाली कांग्रेसको हालको समितिको कार्यकाल आगामी मंसिरमा सकिँदैछ, तर हाम्रो तयारी मंसिरमै अधिवेसन गर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘केन्द्रीय समितिले निर्णय गरेर डेढ वर्ष म्याद थप गर्न मिल्छ। यो मंसिरमा नभए अर्को मंसिरसम्म महाधिवेसन हुन्छ भन्ने लागेको छ ।’ उनले भातृ संगठनहरूलाई व्यवस्थीत चलायमान गराउनका लागि उनीहरूको महाधिवेशन गराउन पार्टी लागेको उनले बताए।

अभिव्यक्ति स्वतन्त्रताका लागि लोकतन्त्र आएकाले आफूहरू त्यसको खिलाफमा नभएको उनले दाबी गरे। ‘अभिव्यक्ति स्वतन्त्रताको लागि हामी लोकतन्त्र ल्याउन लडेका हौं, तर अभिव्यक्ति स्वतन्त्रताको नाममा बिना प्रमाण अराजकता र घृणा फैल्याउने कार्य स्वीकार्य हुन सक्दैन,’ उनले भने। समाजमा घृणा फैल्याउन चाहनेहरूको बोलबाला बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । राजनीतिक दलहरूप्रतिको गुनासोलाई अराजकतामा बदल्ने कार्य स्वीकार्य नभएको उनको भनाइ छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७