गण्डकीले ल्यायो आन्तरिक ऋणसहित ३२ अर्बको बजेट (पूर्णपाठ)

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङले आर्थिक वर्ष २०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्। बजेटको ५९.७ प्रतिशत अर्थात् १९ अर्ब ९ करोड ३३ लाख २४ हजार पुँजीगत खर्चमा विनियोजन गरिएको छ। चालु खर्च १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार (३९.५ प्रतिशत ) र वित्तीय व्यवस्थापनका लागि २५ करोड (०.८ प्रतिशत ) छुट्याइएको छ।
बजेटले दिगो र उत्थानशील पूर्वाधार, सडक, पुल, र ऊर्जा क्षेत्रमा लगानीलाई प्राथमिकता दिएको छ। सञ्चित कोषमाथिको व्ययभार १ करोड ५४ लाख ५२ हजार छ। यो बजेटले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय पूर्वाधार विकास, प्रविधिमैत्री मानव पुँजी निर्माण, सामाजिक न्याय, समुन्नति, सुशासन, र गुणस्तरीय सेवा प्रवाहलाई प्रमुख उद्देश्य बनाएको अर्थमन्त्री गुरुङले बताए।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, रोयल्टी बाँडफाँटबाट ४९ करोड ८९ लाख ७७ हजार, सशर्त अनुदान ३ अर्ब ३५ करोड ६४ लाख, समपूरक अनुदान ६३ करोड ९७ लाख, र विशेष अनुदान ४९ करोड ८६ लाख रुपैयाँ छ। आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारले राखेको छ।
बजेटले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, र पूर्वाधारलाई प्राथमिकता दिएको छ । कृषि तथा भूमि क्षेत्रका लागि २ अर्ब ८ करोड ६७ लाख ५० हजार विनियोजन गरिएको छ, जसमा कृषि व्यवसायीकरण, बीमा, खोप कार्यक्रम र प्रांगारिक खेती प्रवद्र्धनका योजना समावेश छन्। उद्योग र पर्यटन क्षेत्रमा ८४ करोड २१ लाख ९३ हजार छुट्याइएको छ।
वन तथा वातावरण संरक्षण, जलवायु अनुकूलन, र वन्यजन्तु व्यवस्थापनका लागि १ अर्ब ६ करोड ५० लाख ४० हजार विनियोजन गरिएको छ। सामाजिक विकास, र खेलकुदका लागि २ अर्ब ३९ करोड ५१ लाख ६७ हजार छुट्याइएको छ। भौतिक पूर्वाधार र यातायातका लागि सबैभन्दा ठूलो हिस्सा ११ अर्ब ९८ करोड ९ लाख ८ हजार छुट्याइएको छ। ऊर्जा, जलस्रोत र खानेपानीका लागि ३ अर्ब ८८ करोड ८१ लाख विनियोजन गरिएको छ।
बजेटको पूर्णपाठ