‘आदिवासी जनजातिप्रति सरकार सकारात्मक छ’

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आदिवासी जनजातिप्रति सरकार सकारात्मक रहेको बताएका छन्। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सोमबार आयोजित आदिवासी जनजातिसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौविसौँ सत्रमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री गुप्ताले उक्त कुरा बताएका हुन् ।
सम्मेलनमा मन्त्री गुप्ताले विभिन्न देशका उपप्रधानमन्त्री, विदेश मन्त्री तथा मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेको मन्त्रालयका प्रवक्ता कालिप्रसाद पराजुलीले जानकारी दिए । भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध पक्षका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्य गर्नेबारे कुराकानी भएको उनले बताए ।
मञ्चको चौविसौँ सत्रमा आर्थिक तथा सामाजिक विकास, संस्कृति र वातावरण संरक्षण तथा शिक्षा, स्वास्थ्य र मानवअधिकारसँग सम्बन्धित मुद्दाका विषयमा छलफल भएको थियो । साथै, संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू र संयुक्त राष्ट्रसंघको प्रणालीभित्र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र कार्यान्वयन गर्ने विषयमा भएका अभ्यासको पहिचान र चुनौतीबारे मन्त्री गुप्ताले सम्बोधन गर्ने कार्यक्रम छ ।