विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग


२०८१ फाल्गुण १० शनिबार ०१:०७ बजे

काठमाडौं । बालबालिकाको सिकाइका निम्ति आधारभूत विषय पोषणयुक्त खाजा भएकाले विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य तथा वर्ल्ड  भिजन इन्टरनेशनल नेपाल, क्यानालको सहयोगमा काठमाडौँमा आयोजना गरिएको ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श’ कार्यक्रममा बोल्दै सरोकारवालाहरूले त्यस्तो बताएका हुन् । 

पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोक रहित वातावरण तयार निर्माण गर्ने बताउँदै उनीहरूले विद्यालय उमेरका बालबालिकाको लागि पोषण अति आवश्यक रहेको बताए । एक अध्ययनअनुसार विद्यालय खाजामा प्रत्येक एक डलरको लगानीले ५ डलरभन्दा बढी प्रतिफल प्राप्त भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाई स्तर वृद्धिका निम्ति बलियो जनशक्ति र स्वास्थ मानव पुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने कुरा सरोकारवालाले बताए । 

नेपालको संविधानको धारा २६ मा खाद्य सुरक्षा तथा सम्प्रभुत्तालाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था, धारा ५१ को राज्यका नीतिहरूमा कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यताअनुसार जलवायु र कृषि क्षेत्र लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यताअनुसार जलवायु र मानव अनुकूलको खाद्यान्न उत्पादनमा प्रोत्साहन गरी खाद्यान्नको दिगो उत्पादन, आपूर्ति सञ्चय, सुरक्षा र प्रभावकारी गर्ने नीति रहेको छ । 

बाल अधिकारको संरक्षण, प्रवर्धन, शिक्षा, पोषण स्वास्थ्य अधिकारको सन्दर्भमा धारा ३९ ले समेत प्रष्ट बोलेको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता समेत व्यक्त गरेको सन्दर्भमा सोह्रौँ आवधिक योजना पनि मानव पुँजी निर्माणका लागि पोषणमा सुधार ल्याउने र सिकाइ उपलब्धिमा सुधार ल्याउने नीतिगत व्यवस्था रहेको भन्दै सरोकारवालाले पोषणमैत्री, बालमैत्री जस्ता अभियानहरूलाई अघि बढाइरहेका छन् ।

शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेको अध्यक्षतामा सम्पन्न परामर्श कार्यक्रममा मन्त्रालयका नीलकण्ठ ढकालले स्वागत गर्दै विद्यालयमा खाजा कार्यक्रम विभिन्न विषयसँग अन्तर सम्बन्धित रहेको हुन्छ, अन्तर मन्त्रालय, निकाय, संघसंस्थाको साझा विषय समेत रहेको बताएका थिए ।

सचिव डा. काफ्लेले विद्यालय दिवा खाजा प्रारूप, २०८१ लाई कार्यान्वयन सन्दर्भमा प्राप्त सुझावलाई सम्पत्तिको रूपमा ग्रहण गर्दै गुणस्तरीय शिक्षा, प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै शिक्षालाई गुणस्तरीय बनाउन, बालबालिकाको दिवा खाजा प्रवर्धनमा सबै सरोकारवालाको भूमिकालाई जोड दिँदै अन्तर मन्त्रालय, निकाय परिवार, अभिभावक संघसंस्था हामी सबैको दायित्व सहित बालबालिकामा लगानी बढाउने तर्फ अघि बढ्न प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा मन्त्रालयका हरिप्रसाद अर्यालले विद्यालय तहमा पठनपाठन गरिरहेका बालबालिकालाई स्थानीय कृषिमा आधारित तोकिएको मापदण्ड अनुसार पोषणयुक्त खाजाको व्यवस्थापनका लागि सहज गर्ने उद्देश्यले गत असोज ८ गतेको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा मन्त्रालयले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृति भएको बताए । 

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनलकी उमा मगरले वल्र्ड भिजन इन्टरनेशनलले बालमैत्री, पोषणमैत्री, बाल संरक्षण प्रवर्धन र इनअफ अभियान सञ्चालन गरिरहेको बताए । कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले दिवा खाजा कार्यक्रमको अनुगमन गर्नुपर्ने, बालबालिकासँगको कार्यक्रम भएको हुँदा बालबालिका केन्द्रित विषयमा उनीहरूसँग नै सोधेर अध्ययन गर्नुपर्ने विषयमा जोड दिए । 

विद्यालयका प्रधानाध्यापकहरूले दिवा खाजाको रकम निकासा मासिक रूपमा गरिनुपर्ने, असल अभ्यास अनुभवको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम पर्याप्त नभएको र सबै कक्षालाई नै नहुँदा विभेद देखिएको विद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन अभिभावक शिक्षा प्रवद्र्धन, हालको अवस्थाको बारे अध्ययन अनुसन्धान गर्नुपर्ने, स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गर्न सक्नुपर्ने, खरिद प्रणालीमा सहज बनाउनुपर्ने, लगायतका सन्दर्भ उठाएका थिए ।

यसैगरी गाउँपालिका महासंघका सदस्य भूपाल पोखरेल र जिल्ला समन्वय समिति महासंघका उपमहासचिव दीपक गौतम, नगरपालिका संघकी प्रतिनिधि सुनिता सुबेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल लगायतले दिवा खाजा प्रवर्धन गर्ने कार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

अधिकारकर्मी तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले दिवा खाजा कार्यक्रमलाई बाल संवेदनशील सामाजिक सुरक्षा, बालमैत्री, पोषणमैत्री, वातावरणमैत्री, विभेदमुक्त, बालविवाह मुक्त, बालश्रममुक्त, विद्यालय र बालबालिका शान्ति क्षेत्र हुन्, बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने जस्ता अभियानसँग सँगै विद्यालयमा बाल संरक्षण मापदण्ड निर्माण गर्न, किशोरी सशक्तीकरण लगायत पोषण सुधार र दिवा खाजा कार्यक्रमका विषयलाई राजनीतिक पार्टी र सबै सरोकारवालाको साझा छलफलको विषय बन्नु  कुरामा जोड दिए ।

बालमैत्री शासन, पोषणमैत्री शासन र विद्यालय खाजा कार्यक्रमको बारेमा अशोक खनालले बताउँदै बालबालिकाको पोषणमा लगानी बढाउन अपिल गरे । कार्यक्रममा दिवा खाजाको पृष्ठभूमिको बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका हरिप्रसाद अर्यालले प्रस्तुतीकरण गर्दै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, विद्यालय शिक्षा क्षेत्र योजना, स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप लगायत नीतिगत व्यवस्था अनुरूप सञ्चालन भइरहेको बताए । ८ अर्ब ४६ करोड बजेट विद्यालय खाजामा विनियोजन भएको र उक्त रकम बराबर ३२ लाख विद्यार्थीले खाजा खाइरहेको बताउँदै यसलाई थप व्यवस्थित र सबै सरोकारवालाको सहकार्यमा लगानी बढाउनुपर्ने बताएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७