डिजिटल भुक्तानी सुरक्षामा इसेवाले पायो पीसीआई डिएसएस ४.०.१ प्रमाणीकरण

कार्ड डाटा सुरक्षाका विश्वस्तरीय मापदण्ड पूरा गर्दै इसेवाले पायो पीसीआई डिएसएस मान्यता


२०८३ भदौ ४ बिहीबार १७:५४ बजे

काठमाडौं : नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड’ (PCI DSS) भर्सन ४.०.१ को मान्यता प्राप्त गरेको छ। कार्ड डाटा सुरक्षासम्बन्धी विभिन्न विश्वस्तरीय मापदण्ड पूरा गरेपछि इसेवाले उक्त मान्यता प्राप्त गरेको हो।

कम्पनीका अनुसार यसले इसेवामार्फत हुने डिजिटल कारोबार र ग्राहकको भुक्तानीसम्बन्धी डाटा सुरक्षाप्रति कम्पनीको प्रतिबद्धता थप प्रमाणित गरेको छ। पीसीआई डिएसएस भुक्तानी कार्डको डाटा सुरक्षाका लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त सुरक्षा मापदण्ड हो। यसमा सुरक्षित नेटवर्क तथा प्रणाली निर्माण, डाटा सुरक्षा, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, नियमित सुरक्षा परीक्षण तथा निगरानी र सूचना सुरक्षा नीतिलगायतका मापदण्ड समेटिएका छन्।

इसेवाका प्रमुख प्रविधि अधिकृत विपिन खनालले प्रमाणीकरणले प्रयोगकर्ताको डाटा सुरक्षाप्रति कम्पनीको प्रतिबद्धतालाई थप बलियो बनाएको बताए। उनले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र उत्कृष्ट अभ्यासअनुसार प्रणाली तथा प्रक्रियालाई निरन्तर सुधार गर्दै जाने बताए।

इसेवाले प्रयोगकर्ताको वित्तीय तथा व्यक्तिगत जानकारीको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित प्रणाली निगरानी, जोखिम पहिचान, सुरक्षा परीक्षण र पहुँच नियन्त्रणजस्ता अभ्यासलाई निरन्तर सुदृढ गर्दै आएको जनाएको छ।

कम्पनीका अनुसार इसेवा यसअघि नै ISO/IEC 27001:2022 प्रमाणित संस्था हो। नयाँ मान्यताले सुरक्षित, विश्वसनीय र जिम्मेवार डिजिटल भुक्तानी प्रणाली निर्माण गर्ने प्रयासलाई थप बल पुगेको कम्पनीको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७