ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रिटमा सकियो सुनुवाइ

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटमाथि सुनुवाइ सकिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा रिटमाथि सुनुवाइ सकिएको हो । सुनुवाइ सकिएकाले आजै फैसला आउने सम्भावना रहेको जनाइएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सो निर्णय बदरको माग गर्दै २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दावीसहित उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरिएको छ । उनीहरूले नीतिगत निर्णय मात्रै गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो ।