रास्वपाले 'सद्भाव तथा सहकार्य अभियान' चलाउने


२०८२ असोज २ बिहीबार २१:२० बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनप्रति पार्टीको नैतिक समर्थन रहे पनि विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति होइन भन्ने कुरा पनि पार्टी स्पष्ट रहेको जनाएको छ । 

बिहीबार बसेको सचिवालय बैठकले जेन जी आन्दोलनपछिको  संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले 'सद्भाव तथा सहकार्य अभियान' सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 

यस्ता छन् रास्वपाको सचिवालय बैठकका निर्णयहरु: 

१, भदौ २३  गते जेनजी पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तहबाट नैतिक ऐक्यबद्धता रहेको कुरामा दुई मत छैन। तथापि, विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति होइन भन्ने कुरा पनि पार्टी स्पष्ट पार्दछ। जेन जी आन्दोलनपछिको  संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ  गर्नेछ । असहमतिलाई बैमनस्यताबाट  होइन, संवाद र सहिष्णुताबाट समाधान गर्ने पार्टीको दृढ प्रतिबद्धता फेरि पनि जाहेर गर्दछौँ ।

२, पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको विशेष एजेन्डा र  बाचा पत्रको प्रमुख मुद्दा 'विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार' प्रति वर्तमान सरकारले देखाएको चासोलाई रास्वपाले स्वागत गर्दछ । पार्टी आफैले उठाएको मुद्दा र  यस प्रक्रियाको ब्लु प्रिन्ट पार्टीसँग भएका कारणले यस सम्बन्धमा पार्टी  अन्तरिम सरकारलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहनेछ । साथै, प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास/कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित निकायलाई प्रस्ताव गर्दछ । जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै, मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने  निर्णय गरिएको छ।

३, पार्टीको केन्द्रीय समितिको बैठक २०८२ आश्विन ७ गते (मङ्गलबार)   केन्द्रीय कार्यालयमा  बस्नेछ।  पार्टीको आगामी कार्यदिशा सम्बन्धी बृहत् छलफलका लागि केन्द्रीय विस्तारित बैठक बोलाउने सम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने ।

४,  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन २०८२ फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा गर्ने प्रस्ताव गरिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७