अन्तरिम सरकार असफल बनाउन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताविरुद्धको षड्यन्त्र अझै अन्त्य नभएको बताएका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारलाई असफल बनाउन योजनाबद्ध प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
प्रचण्डले भने, ‘अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भइसकेको छ। चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्छ । हामी चाहन्छौँ कि घोषित निर्वाचन तोकिएकै समयमा सम्पन्न होस्।’
लोकतन्त्र, गणतन्त्र र संविधानका आधारभूत मान्यताविरुद्ध जाने कोसिसले देशलाई समाधानतिर नभई झनै सङ्कटतर्फ धकेल्ने उनको भनाई छ । उनले हालको राजनीतिक अवस्था परिवर्तन विरोधी शक्तिहरूको षड्यन्त्रसँग जोडिएको बताउँदै लोकतान्त्रिक, गणतान्त्रिक र परिवर्तन प्रेमी शक्तिहरूबीच एकता आवश्यक रहेको बताए ।
‘म यत्ति भन्छु, मेरा लागि जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबलबाट पूरा गर्न नसकेका एजेन्डाहरूकै अभिव्यक्ति हो,’ उनले भने।
साथै पूर्वप्रधानमन्त्रीका रूपमा वा प्रमुख प्रतिपक्षी दलको नेताका आफूले काँग्रेस र एमालेका नेतृत्वलाई जनताको आवेग र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरेको पनि उनले उल्लेख गरेका छन् ।