स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैन : राष्ट्रपति पौडेल


२०८१ माघ ३० बुधबार २३:४७ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत संगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्न नहुने बताएका छन् । 

नातिकाजी स्मृति समाजद्वारा आज यहाँ आयोजित ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान तथा पुरस्कार समारोह’ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गीत संगीत सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो, त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्ने बताए । 

राष्ट्रपति पौडेलले नेपाली लोकभाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याएको योगदान अनुकरणीय छ रहेको चर्चा गर्दै नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीत संगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको बताए ।  उनले भने, ‘विशेषत नातिकाजीका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ ।’

संगीतको शक्ति अपरम्पार छ, यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि हो भन्दै राष्ट्रपति पौडेलले बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्द्रिय एकतालाई बलियो बनाउने आधार रहेको बताए ।

उनले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि हुन् भन्दै हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत हो, यसले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउँछ भने । राष्ट्रपति पौडेलले नातिकाजी स्मृति समाजले नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील स्रष्टालाई सम्मान गर्ने परम्परा बसालेर प्रशंसनीय कार्य गरेको बताउँदै स्रष्टाहरूलाई थप प्रेरणा र ऊर्जा थपेर सम्पूर्ण नेपाली गीतसङ्गीत क्षेत्रको विकासमा योगदान दिने मैले विश्वास लिएको बताए । 

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संगीत महर्षी एवं बहुप्रतिभाका धनी नातिकाजी शब्द, संगीत र स्वरको त्रिवेणी भएको चर्चा गर्दै देशभित्र आशा जगाउने किसिमले उनले राष्ट्रभक्तिका कालजयी गीतहरू गाएको बताए । समाजका अध्यक्ष एवं वरिष्ट संगीतकार शम्भुजित बास्कोटाले सङ्गीत महर्षी नातिकाजी श्रेष्ठको १००औं जन्मजयन्तिको अवसरमा देशका नयाँ पुराना गीत संगीत साधकहरूलाई सम्मान एवं पुरस्कृत गरिएको जानकारी दिए ।

त्यस अवसरमा नातिकाजीले गाएका ‘नेपाली हामी रहूँला कहाँ, नेपालै नरहे’, ‘यो नेपाली शीर उचाली’ बोलका गीत सहित अन्य राष्ट्रभक्तिले ओतप्रोत गीतहरू प्रस्तुत गरिएको थियो । नवगायिका स्मिता दाहालले तारादेवीको गीत ‘साँगुरी वारि नि हौ, त्यो धारा पानी’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।

नातिकाजी स्मृति समाजका अनुसार नातिकाजीले ३३७ वटा आधुनिक नेपाली गीत, ९१ वटा देशभक्ति गीत, १० वटा बाल गीत र १९० वटा भजनमा संगीत दिएका छन् । साथै उनले २२ वटा जति गीतिनाटकमा संगीत दिएका छन् । विसं २०६० कात्तिक १६ गते निधन हुनु भएका नातिकाजीको स्मृतिमा २०६२ सालमा नातिकाजी स्मृति समाज स्थापना भएको थियो । यस संस्थाले नातिकाजीको योगदानलाई चिरस्थायी बनाउन हरेक वर्ष गीत सङ्गीतका क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुका साथै उनका योगदानमाथि चर्चा गर्ने गरेको छ ।

समाजले स्थापना गरेको नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मानबाट वरिष्ट सञ्चारकर्मी धन लामा, गतिकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण केसी क्रोधी, यशोदा पराजुली, विमल भौकाजी, प्रकाश सायमीलाई सम्मानित गरिएको छ । यस्तै, नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार बि पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्राट थापा सम्मानित हुनुभयो । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार गीत रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शङ्कर, गायिका स्मीता दाहाल र संगीतकार कल्याण सिंह सम्मानित भए । 

नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरकारबाट डा. रमेश पोखरेललाई सम्मान गरिएको थियो । त्यसैगरी नातिकाजी राष्ट्रिय कला पत्रकारितातर्फ पत्रकारद्वय सुशील अर्याल र सुकृत नेपाल सम्मानित भए । नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार भने लोक गायकहरू रामप्रसाद अवस्थी, सुष्मा शाही ठकुरी र कृष्ण विकले प्राप्त गरे । सम्मानित सबै कलाकर्मीलाई राष्ट्रपति पौडेलले सम्मानपत्र सहितले सम्मानित गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७