तातो पन्यूले विद्यार्थीको गाला डामी दिने प्रिन्सिपलकी छोरी पक्राउ
![](https://nayapage.com/uploads/content/2024/10/nayapage-taja news2024-10-26-08-24-47.jpg)
तनहुँ । तनहुँमा तातो पन्यूले विद्यार्थीको गालामा डाम्ने एक शिक्षिका पक्राउ परेकी छन् । तनहुँ भिमाद नगरपालिका–६ शान्तिनगरमा रहेको एकेडेमी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्ने चार विद्यार्थीको गालामा पन्यूले डाम्ने लेखापाल एवम् शिक्षक ३४ वर्षीया सुस्मा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विद्यालयका संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरी समेत रहेकी लेखापाल श्रेष्ठले जिस्क्याएको तथा हल्ला गरेको भन्दै चार विद्यार्थीको गालामा तातो पन्यूले डामेकी हुन् । विद्यालय सञ्चालक तथा प्रिन्सिपलकै छोरीबाट भएको यस्तो अमानवीय कामको अभिभावक तथा विद्यार्थीले चर्को आलोचना गरिरहेका छन् ।
आफ्नो प्रिन्सिपल बुबा उपस्थित नभएर विद्यालयकै ‘कमाण्ड’ सम्हालेकी श्रेष्ठले घरबाटै पन्यू ल्याई तताएर विद्यार्थीलाई डामेकी थिइन् । डामिएका विद्यार्थी सबै १० वर्ष उमेरका छन् । आफ्ना बच्चाहरूलाई विद्यालयमा पन्यू तताएर यातना दिइएपछि अभिभावक मुर्छित बन्न पुगेको पीडित विद्यार्थीका आमा विष्णु परियारले बताइन् ।
अनुसन्धानका क्रममा उक्त शिक्षकबाट अन्य दुई जनासमेत पीडित भएको खुल्न आएको तनहुँ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । श्रेष्ठलाई पक्राउ गरी बालबालिका बिरूद्धको कसुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको अधिकारीले बताए ।