‘आमाको नामबाट नागरिकता नदिँदा समाजमा आँशु आउने घटना घटेका छन्’
![](https://nayapage.com/uploads/content/2025/02/samsad2025-02-12-20-52-54.jpg)
काठमाडौं । संसदमा दर्ता भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउने गरी व्यवस्थित गरिनु पर्नेमा सांसदहरुले जोड दिएका छन् । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा सांसदहरुले राम्रो व्यवस्था हुँदाहुँदै विधेयकमा केही विषय छुटेको बताए । छुटेका विषयलाई विधेकयमाथि संशोधन प्रस्ताव राखेर व्यवस्थित गर्न सकिने उनीहरुले बताए ।
नेपाली कांग्रेसका सचेतक समेत रहेकी सांसद सुशीला थिङले नेपालमा सम्बन्ध स्थापित गरेर विदेशमा गएर बच्चा जन्माउने महिलाबाट जन्मिएका बालबालिकाले नागरिकता पाउने सम्बन्धमा विधेयक मौन रहेकाले यसमा संशोधन प्रस्ताव राखिनुपर्ने बताइन् । सांसद कान्तिका सेजुवालले आमाको नामबाट नागरिकता नदिँदा समाजमा आँखाबाट आँशु आउने घटना हुने गरेको सुनाइन् । पूर्वमन्त्री एवं कांग्रेस नेता स्वर्गीय नवीवन्द्रराज जोशी र सांसद सपना राजभण्डारीकी छोरीले नागरिकता बनाउन जाँदा बाबुको नागरिकता ल्याउन भनेको, धार्मिक संस्कार अनुसार मृत्यु संस्कार गर्दा नागरिकता एवं चिना जलाइएकाले ल्याउन नसकी सांसदकै छोरीले समस्या भोग्नुपरेको घटना उनले सुनाइन् ।
सांसद सुशीला सिरपालीले कुनै पनि दल विशेषको नभनी नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई साझा बनाएर संशोधन प्रस्ताव राखेर पारित गरिनुपर्ने बताइन् । सांसद रोशन कार्कीले बाबुको नाम नखुलेको भनी नागरिकता लिन जाँदा महिलाको चरित्रमाथि प्रश्न उठ्ने भएकाले संशोधन प्रस्ताव राखिनुपर्ने बताइन् । सांसद लक्ष्मी तिवारीले नागरिकतामा महिला र पुरुषलाई समान व्यवस्था गरिनुपर्ने विचार राखिन् ।
सांसद नागिना यादवले नागरिकताका आधारमा राजनीतिक अधिकार पाइने भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियता पनि हेर्नुपर्ने बताइन् । सांसद हर्कमाया विकले नेपालमा नागरिकताका बारेमा धेरै प्रकारका समस्या रहेकाले सकारात्मक रुपमा आएको नागरिकता ऐन संशोधन विधेयकलाई परिष्कृत रुपमा पारित गर्नुपर्ने बताइन् । सांसद सरस्वती सुनुवारले मधेश प्रदेशमा बस्ने ३० प्रतिशत मानिससँग नागरिकता नरहेको उल्लेख गर्दै बाबु, आमाको नागरिकता नहुनेका छोराछोरीले पनि टोली आएका बेला नागरिकता पाएको सुनाइन् ।
सांसद प्रतीक्षा तिवारीले पुस्तौंपुस्तादेखि नेपालमा बसेका मुसहरले तीन पुस्तादेखि नागरिकता नपाएको सुनाइन्। सांसदद्वय दीपा शर्मा र शान्ति श्रेष्ठले नागरिकताका विषयमा रहेका समस्या समाधान गर्ने गरी संशोधन प्रस्ताव दर्ता गराउने प्रतिबद्धता जनाउएकी थिइन् । छलफलमा अधिवक्ता सुषमा गौतमले वंशजको नागरिकता अधिकारको विषय र अङ्गीकृत नागरिकता राज्यको स्वविवेकको विषय भएकाले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियताका बारेमा डराउन नहुने सुझाव दिइन् । बैठकमा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना, अधिवक्ता बिनु लामा र अधिवक्ता विनोद देवकोटाले महिला, पुरुषलाई समानताका आधारमा नागरिकताको अधिकार हुने गरी विधेयकलाई परिष्कृत गरिनुपर्नेमा जोड दिएकी थिइन् ।