३५ करोड ६२ लाख भ्रष्टाचारको आरोपी मेयर भरत थापाको पक्षमा संसदमा प्रचण्डको भाषण


१५:४५ बजे

काठमाडौं : प्रमुख प्रतिपक्षी दलको नेता तथा पूर्व प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३५ करोड ६२ लाख भ्रष्टाचारको आरोपीको पक्षमा संसदमा बोलेका छन् । प्रचण्डले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले विकासमा रेकर्ड बनाएको मेयर भन्दै उनको तिव्र बचाउ गरे ।   

विहिबार उनले संसदमा भनेका छन्, ‘म एउटा के कुरा स्मरण गराउन चाहन्छु भने २०७४ सालमा चुनाव जितेर मेयर भएको, अनि त्यो मेयरले विकासलाई द्रुत गति दिएको, राष्ट्रिय संस्कृतिको जगर्ना गरेर राष्ट्रिय एकता प्रवद्र्धन गर्न खोजेर रिकर्ड बनाएको पालिका हो । म आज सुन्दैछु जिम्मेवार नेताहरुबाट नै, त्यसपालिकाका मेयर नेकपा एमालेमा आउने हो भने यो सबै अख्तियारमा भएको पनि, बनको पनि मुद्दा सफाइ गरिन्छ । माओवादीमै बस्ने हो भने बचाउँन सकिदैन । यहि हो सरकारको निष्पक्षता ?’

तर यसरी अध्यक्ष प्रचण्डले चौतर्फी प्रशंसा र बचाउ गरेका मेयर थापा माथि दुई मुद्दा लागेको छ ।

अध्यक्ष प्रचण्डले बचाउ गरेका निलम्बित मेयर थापा माथि भने मुद्दाको भारी छ । थापाले किर्ते भर्पाइ बनाएर करोडौंको लेनदेन गरेको देखिएको छ। उनले भ्रष्टाचारको मुद्दाबाट बच्न करोडौंको लेनदेनको नक्कली भर्पाइ र कपाली तमसुक बनाएको तथ्य भेटिएको छ।  निलम्बित मेयर थापामाथि मुद्दैमुद्दा छन्। 

अख्तियारले थापाविरुद्ध २०८० चैत २७ मा ५ करोड ३३ लाख अकुत सम्पत्ति आर्जनमा मुद्दा हालेको थियो। त्यस्तै, २०८१ जेठ २८ मा भरत तालमा अनियमितता भएको आरोपमा मुद्दा चलाइएको छ। उनले भरत ताल निर्माणमा अनियमितता गरी राज्यलाई ३३ करोड हानिनोक्सानी पुर्‍याएको आरोपको मुद्दा चलिरहेको छ। 

 

थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५९ हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २९ रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ । कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारको मुद्दामा उल्लेख छ । 

यसैगरी २९ जेठ २०८१ मा अख्तियारले भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अर्को  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा अर्को  मुद्दा दायर गरेको थियो ।

थापा माथि सर्लाहीको बागमती नगरपालिका वडा नं ४ र १ २ मा रहेको भरत ताल निर्माण गर्दा ३० करोड २९  लाख रुपैयाँ भ्रष्टाचार गरेको अर्को मुद्दा लागेकाे हाे  । 

अवैद्य सम्पति

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्र अनुसार थापा गत निर्वाचनमा मेयर भए यता १३ करोड २० लाख३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायय गरेको छ ।

थापा मेयर रहेकै बखत २०७५ असार ३२ मा नातामा भाइबुहारी द्धारिका राउतले मनोकामना बहुउद्देश्य सहकारीबाट २० लाख ९२ हजार ७ सय २४ रुपैयाँ ऋण लिएकी थिइन् । पछि उक्त सहकारीको ऋण तिरेको देखाइएको छ । त्यसको स्रोत भने खुलेको छैन ।

मेयर थापाले असार ३२ मा १६लाख १४ हजार ४ सय ७५ रुपैयाँ र आमा कृष्णमाया थापाले साउन ३२ मा १७ लाख ९ हजार ६सय ८८ रुपैयाँ सहकारीमा ऋण तिरेको देखाइएपनि यसको पनि स्रोत खुलेको छैन ।

साउन ३१ मै बुहारी द्धारिका राउतले सोही सहकारीमा १७ लाख ९ हजार ६सय ८८ रुपैयाँ ऋण तिरेको देखाइएपनि स्रोत खुलेको छैन । २०७७ असोज ६मा थापाका भाइ रामकुमारले रौतहटको जुडिबेलामा सरकारी न्युनतम मुल्य कायम गरी ५२ लाख २५ हजारमा १० कठ्ठा जमिन खरिद गरेकोमा यसको स्रोत कतैबाट नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

मेयर थापाले नै श्रीमती रेश्मीकुमारी घिमिरे (थापा)को नाममा २०७७ असोज १ मै ऋषिपथ मसरुम (च्याउ) फर्म स्थापान गरी ४० लाख लगानी गरेको देखाएका छन् । यसको पनि कुनै स्रोत खुलेको छैन । मेयर थापासहित २ जनाका नाममा २०७७ माघ १७ मा सर्लाहीको हरिवनमा १ बिघा ६कठ्ठा ११ धुर जग्गा सरकारी मुल्यांकन ५१ लख ७२ हजार ७ सय ५० रुपैया कायम गरेर खरिद गरेको स्रोत पनि खुेको छैन ।

भाइ रामकुमारकै नाममा बागमती सहकारीबाट लिएको १० लाख ऋण चुक्ता गरेको रकमको स्रोत पनि उनले देखाउन सकेनन् । ग्लोबल आइएमइ बैंकबाट लिएको १७ लाख २४ हजार ७ सय ३० रुपैयाँ २०७८ असार ३१ म चुक्ता गरेको देखिन्छ । मेयर भएकै बेला थापाले भाइ रामकुमारका नाममा त्रियोग पेट्रोलियम प्रोडक्स डिस्टीबयुटर्स प्रालि र आरबीजेएस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका नाममा गरेको ६१ लख ३२ हजार ४ सय ५० रुपैयाँ लगानी पनि अवैध सम्पत्तिबाट भएको ठहर गरेको छ ।

भाइ बुहारी द्धारिका राउतले चुक्ता गरेको यो रकमको पनि स्रोत खुलेको छैन । छोरालाई काठमाडौंको एक बोर्डिङ स्कुलको शुल्क तिरेको रकमाके पनि स्रोत खुलेको देखिदैन । मेयर थापा र उनका परिवारका सदस्यहरुका नाममा विभिन्न बैंकबित्त संस्थााम देखिएको नगद २२ लाख ८६हजारको पनि स्रोत खुलेको छैन ।

अनुसन्धानमा सामेल अख्तियारका एक अधिकारीका अनुसारर मेयर जापाले आफूपदमा रहदा पदको दुरुपयोग गरी आर्जन गरेको धन जग्गा, सहकारी, निजी कम्पनीलगायतमा व्यवस्थाप गरेको देखिन्छ । यसमध्ये जग्गा, सहकारी र बैंकको ऋण चुक्तासहित विभिन्न १४ वटा कारोबारको ३ करोड ५७ लाख ६८ हजार ६सय ३२ रुपैयाँ बराबरको शतप्रतिशत स्रोत नखुलेको हो ।

मेयर थापा र उनकी श्रीमती, आमा, भाइ–बुहारीलगायतमार्फत भएका १० वटा कारोबारको रकममध्ये आंशिक स्रोत नखुलेको रकम १ करोड ७५ लाख ८४ हजार ५ सय ५७ रुपैयाँ देखिन्छ । यसरी शतप्रतिशत १४ र आंशिक १० वटा लेनदेन–कारोबारबाट स्रोत नखुलेको कूल सम्पत्ति ५ करोड ३३ लाख ५३ हजार १ सय ८९ रुपैयाँ बराबर हुन आउछ । मेयर बनेपछि विभिन्न १२ वटा कम्पनी र संस्थामा थापाले संकास्पद लगानी गरेकओ देखिएको छ ।

अख्तियारले मेयर थापा र उनको परिवारको २०७४ असोज ७ देखि २०७९ माघ २९ सम्म्को करीब ५ वर्षको कारोबारलाई अनुसन्धानको दायरामा ल्याएको थियो । अख्तियारले गैरकानुनी सम्पत्तिबाट बढेवढाइएको सम्पत्ति पनि गैरकानुनी नै हुने भन्दै त्यस्तो सम्पत्ति जफत हुने अभियोगपत्रमा उल्लेख गरेको छ ।

भ्रष्टाचारबाट आर्जित रकमबाटै जग्गा खरिद गरेको देखिएको भन्दै रौतहटको जुडिबेलाको १० कठ्ठा र सर्लाही हरिवनको १ बिघा १४ धुर जग्गा, श्रीमती रेश्मीका नाममा खोलिएको ४० लाख लगानीसहितको च्याउ फर्म पूर्ण रुपमा जफत गर्न मागदावी लिइएको छ । हरिवनकै ८ कठ्ठा जग्गामध्ये ४.३१ प्रतिशत हिस्सा जफत गर्नुपर्ने मागदावी छ ।

तालमा भ्रष्टाचार

मेयर थापाले माछापोखरी बनाउने भन्दै आफ्नै नाममा कृत्रिम ताल (भरत ताल) निर्माण गरेका थिए। अख्तियारको आरोपपत्रमा सरकारको स्वीकृतबिना बागमती नगरपालिकाले वनको जग्गासमेत विनाश गरी त्यो ताल बनाएको उल्लेख छ। बागमती नगर कार्यपालिकाबाट यो माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको देखाए पनि बहुउद्देश्यीय माछापोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृतसमेत नगराएको अख्तियारको आरोपपत्रमा छ।

बागमती नदीको बहाव प्रयोग गर्न स्वीकृति नलिई माछापोखरी (हाल ताल) निर्माण गर्ने भनी सागरनाथ वन विकास परियोजनाअन्तर्गतको वन क्षेत्रमा थापाले यो पोखरी बनाएको देखिएको छ।सरकारको स्वीकृतबिना २०७५/७६ देखि बागमती नगरपालिकाले ३९,७३,१९१.१८ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन गरेको देखिएको छ। अख्तियारको अनुसार ब्लकिङसहित गणना गर्दा ४७,००,२८५.१६ घनमिटर नदीजन्य पदार्थ उत्खनन भएको देखिन्छ।

मापदण्डभन्दा बढी औसतमा प्रतिदिन करिब ३ सय ४५ घनमिटर उत्खनन भएको देखिन्छ। तत्काल प्रचलित वातावरण संरक्षण नियमावली, २०५ अनुसार खानी क्षेत्रअन्तर्गत दैनिक तीन सय घनमिटरसम्म निर्माणमुखी खनिज, ग्राभेल, गिटी, बालुवाको उत्खनन गर्ने प्रस्तावमा प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने व्यवस्था छ।

सोही नियमावलीअनुसार नदीनाला सतहबाट दैनिक २ सय ५० घनमिटरभन्दा बढी बालुवा, ग्राभेल, गिर्खा, माटो निकाल्ने प्रस्तावका लागि वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्छ। 

भरत ताल बनाउँदा वनको ७० हेक्टर, आँप बगैंचाले ५० हेक्टर, ३ हजार २ सय ५० घरटहराले ७५१.७ हेक्टर, पानीट्यांकी, खेल मैदानले ७० हेक्टर गरी ९४१.७ हेक्टर वन क्षेत्र अतिक्रमण गरेको देखिएको छ। त्यस्तै, भक्तिपुर र सागरनाथ रेन्ज पोस्टअन्तर्गतको २५.३७ हेक्टर गरी सर्लाही जिल्लामा सागरनाथ वन विकास परियोजना, सर्लाहीको जम्म ९६७.३७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ।

महोत्तरी जिल्लामा ४२.४१ हेक्टर वन क्षेत्र अतिक्रमण भएको अख्तियारको आरोपपत्रमा छ। मेयर थापाले भव्य ताल निर्माण गरेका छन्। जसको नाम उनले आफ्नै नामबाट ‘भरत ताल’ राखेका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा पहिलोपटक मेयर भएका थापा २०७९ सालमा पुनः निर्वाचित भए। 

यो ताल सर्लाही जिल्लाको बागमती नगरपालिका–४ र १२ मा पर्छ। यो १ सय ५० बिघा क्षेत्रमा फैलिएको छ। यो तालमा बोटिङ गर्न र पिकनिक मनाउन दैनिक हजारौं पर्यटक आउने गरेका छन्। सुरुमा माछापालनका लागि पोखरी खनिएको थियो। पछि, तालकै रूपमा विकास गरिएको हो। पछिल्लो समय यो तालबाट राम्रो आम्दानी भइरहेको छ। तर यसले त्यहाँको पर्यावरण, वातावरणदेखि चुरेको विनाश भएको स्थानीयको आरोप छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७