कोरिया उड्ने तयारीमा थिए कैलाश, मोटरसाइकल दुर्घटनामा साथीसँगै गयो ज्यान
![](https://nayapage.com/uploads/content/2025/02/accident2025-02-12-11-05-15.png)
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६, मझगाउँका २१ वर्षीय कैलाशसिंह साउद काठमाडौँमा कोरियाली भाषा पढ्दै थिए । कोरियामा जाने तयारीमा रहेका उनी केही दिनअघि परिवारसँग भेटघाटका लागि घर मझगाउँ आए ।कोरियाको भिसा आइसकेको थियो । स्थानीयका अनुसार उनी फागुन ११-१२ तिर कोरिया उड्दै थिए ।
परिवार, साथीभाइसँग भेटघाट गरेर कैलाश यसै साता काठमाडौँ फर्किंदै थिए । दुर्भाग्य ! सोमबार राति उनी मोटरसाइकल दुर्घटनामा परे । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार दुर्घटनामा उनीसँगै भीमदत्त नगरपालिका–१३ का २१ वर्षीय गणेश विष्टको पनि ज्यान गयो ।
भीमदत्त नगरपालिका–१२ स्थित चार लेनको सडक (भाइरल रोडले चिनिने) मा तीव्र गतिमा रहेको उनीहरू सवार सुपप्र ०१ ०१२ प ९२४९ नम्बरको बुलेट बाइक अनियन्त्रित भएर विद्युत्को पोलमा ठोकियो । दुर्घटनामा गम्भीर घाइते भएका कैलाश र गणेशलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरे ।भीमदत्त नगरपालिका वडा नम्बर १३, वडैपुरका गणेश र वडा नम्बर १६, मझगाउँका कैलाश साथी थि ए। दुर्घटनामा निधन भएका दुवैको महाकाली आर्यघाटमा मंगलबार अन्त्यष्टि गरिएको छ ।
‘एक साताअघि विदेशको लागि कागजपत्र बनाउन आएका थिए । वडाबाट गर्नुपर्ने सिफारिस गरिदिएको थिए,’ भीमदत्त नगरपालिका–१६ का अध्यक्ष केशव विष्ट भन्छन्, ‘कोरिया जान लागेको सुनेको थिएँ । सरसमान पनि तयार भइसक्याथ्यो। दुःखद घटना भयो ।’
कैलाशका बुवा नेपाली सेनामा कार्यरत छन् । कैलाश कान्छा थिए । जेठा छोरा कोरियामा छन् । मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्युले परिवार शोकमा डुबेका छन् । ‘गाउँ समाजमा मिलनसार, राम्रो व्यवहार थियो। आमाबुवाले ठूलो सपना देखेका थिए,’ भीमदत्त नगरपालिका–१६ का वडासदस्य महेन्द्र प्रसाद भट्टले भने, ‘दुःखद घटनाले सपना चकनाचुर भयो । आशालाग्दा युवा गुमाउँदा समाजमा अपूरणीय क्षति पुगेको छ ।’