लोसपा नेपालले पनि भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
![](https://nayapage.com/uploads/content/2024/07/Mahantha_Thakur_1_36L8PKGytQ2024-07-13-17-38-06.jpg)
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । भूमिसम्बन्धी अध्यादेश जनताको हितविपरीत भएको लोसपा नेपालले जनाएको छ ।
अध्यक्ष महन्थ ठाकुरले बुधबार विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई आफ्नो पार्टीले समर्थन नगर्ने स्पष्ट पारेका हुन् । सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बञ्चित राख्ने तथा वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपा नेपालले ठहर गरेको छ ।
‘भूमिसम्बन्धी अध्यादेशप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अध्यादेशको अन्तर्यको अध्ययन गर्दा समग्रमा अत्यन्त गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायतका पूर्णरूपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धीको दायराबाट बञ्चित राखिने तथा यो अध्यादेशले वनफडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ ।’ विज्ञप्तिमार्फत् लोसपा नेपालले यस्तो अवस्थामा अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको जनाएको छ ।