अध्यादेश ल्याउनु अहिलेको आवश्यकता : मन्त्री गुरुङ


२०८१ माघ ६ आइतबार ०१:३२ बजे
फाइल फोटो

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन् । आज क्व्हेलासोथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माध्यमिक विद्यालयको ५०औं स्वर्ण जयन्ती कार्यक्रम उद्घाटन गर्दै उनले विकास र सुशासनको गति बढाउन आवश्यक रहेकाले सरकारले अध्यादेशको बाटो रोजेको बताए । 

‘मुलुक पञ्चायत, बहुदल, युद्ध हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि काम गर्ने अवस्था पुरानै छ । कानुनको कुरा पनि त्यही हो । यसकारण ऐन, कानुनमा आवश्यक संशोधन गरेर कामको गति बढाउन सरकारले अध्यादेश ल्याएको हो’, मन्त्री गुरुङले भने । उनले गणतन्त्रको विकल्पमा समृद्ध गणतन्त्र र लोकतन्त्रको विकल्पमा समृद्ध लोकतन्त्र मात्र हुने भन्दै यस्तो व्यवस्थामा पनि जनताले सहज रूपमा सेवा पाउन नसक्ने अवस्था अन्त्यका लागि अध्यादेश उपयोगी हुने धारणा राखे ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘मुलुकमा जनताले अझै पनि सहज रूपमा छिटोछरितो र भनसुनविना सेवा पाउन नसकेको गुनासो सबैले सुनिरहेकै छौँ । अध्यादेश जारी भएसँगै ती समस्या हल गर्न सहज हुने हाम्रो अपेक्षा छ ।’ उनले सरकारले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य राष्ट्रिय परिचयपत्र हुनुपर्ने नियम बनाएको बताए ।

कर्मचारीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने गरेको जनगुनासोपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको सरकारका प्रवक्ता गुरुङको भनाइ थियो । गण्डकी प्रदेशका अर्थ मामिलामन्त्री डा टकराज गुरुङले सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, बिजुली पर्यटनलगायत क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको बताए । त्यस अवसरमा उक्त विद्यालयमा सूचना प्रविधि कक्षासमेत स्थापना गरिएको छ ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७