राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक ‘फास्ट ट्रयाक’ मा पारित गरिँदै


२०८३ असार २५ बिहीबार १०:३८ बजे

काठमाडौँ । राष्ट्रिय सभाले सरकारद्वारा ल्याइएका चारवटा अध्यादेश प्रतिस्थापन विधेयकलाई 'फास्ट ट्रयाकु (द्रुत मार्ग) बाट पारित गर्ने तयारी गरेको छ। आज दिउँसो सवा १२ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ती विधेयकहरूको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

आज पेस हुन लागेका विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ रहेका छन्।

समय घर्किने भएपछि हतारो
संसद् अधिवेशन नरहेका बेला सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १४ गते आठवटा अध्यादेश जारी गरेका थिए। ती अध्यादेशहरू वैशाख २८ गते संसद्‍मा पेस भएका थिए।

संवैधानिक व्यवस्था अनुसार संसद्‍मा पेस भएको ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ। सोही प्रावधान अनुसार यी अध्यादेशहरूको कानुनी अवधि यही असार २६ गते समाप्त हुँदैछ। समयसीमा घर्किन लागेका कारण सरकारले तीमध्ये चारवटा अध्यादेशलाई प्रतिस्थापन विधेयकमार्फत तीव्र गतिमा अगाडि बढाएको हो।

यसरी गरियो द्रुत तयारी
प्रतिनिधिसभाले गत हप्ता पारित गरेर शुक्रबार राष्ट्रिय सभामा पठाएका यी विधेयकहरूलाई राष्ट्रिय सभाले असार २३ गते दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो। समितिले हिजो असार २४ गते एकै दिन चारवटै विधेयकमाथिको दफावार छलफल सकाएर प्रतिवेदन तयार पारेको हो। आज बिहान प्रतिवेदनलाई अन्तिम रूप दिएर दिउँसोको सभामा पेस गर्न लागिएको छ।

राष्ट्रिय सभाले यी विधेयकहरू पारित गरेपछि पुनः प्रतिनिधिसभामा पठाइनेछ। त्यहाँबाट सभामुखले प्रमाणित गरी राष्ट्रपतिकहाँ पठाउनेछन् र राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यी विधेयकहरू ऐनका रूपमा लागू हुनेछन्

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७