डिजेल भर्दै गर्दा जमिनमूनीको ट्यांकी पड्कियो : साढे ९ हजार लिटर इन्धन नष्ट
काठमाडौं : झापाको शिवसताक्षीमा जमिनमुनि राखिएको डिजेल ट्यांकी पड्किएर आगलागी हुँदा एक जना घाइते भएका छन्। आगलागीबाट ट्यांकीमा भण्डारण गरिएको करिब ९ हजार ५०० लिटर डिजेल जलेर नष्ट भएको छ।
आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका–१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।
प्रहरीका अनुसार जमिनमुनि रहेको ट्यांकीबाट प्रदेश १–०१–००१ क १८०० नम्बरको टिफरमा डिजेल भर्ने क्रममा ट्यांकी अचानक पड्किएपछि आगलागी भएको थियो।
आगलागीमा परी टिफर चालक इलामको माङ्सेबुङ गाउँपालिका–३ निवासी ३५ वर्षीय कोफियत राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट ट्यांकीमा रहेको डिजेल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने टिफरमा समेत सामान्य क्षति पुगेको छ।
आगो नियन्त्रणमा लिन प्रहरी टोली, शिवसताक्षी नगरपालिकाको दमकल र कम्पनीका कर्मचारी परिचालन भएका थिए। ट्यांकी पड्किनुको कारण भने खुल्न सकेको छैन।
.gif)

.png)



