प्रधानमन्त्री बालेन शाहले तीन र अन्य मन्त्रीले पाँच अध्यादेश आज संसद्मा पेस गर्ने कार्यसुची

अर्थमन्त्री वाग्लेले ‘सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश २०८३’ पेस गर्ने


२०८३ बैशाख २८ सोमबार ०९:५९ बजे

काठमाडौँः संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो बैठकमार्फत सरकारले विभिन्न महत्वपूर्ण अध्यादेशहरू पेस गर्ने कार्यसूची तय भएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन), 
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था तथा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी गरी तीनवटा मुख्य अध्यादेश पेस गर्ने तयारी गरेका छन् ।

यसैगरी, मन्त्रीहरूले पनि आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशहरू संसद्मा प्रस्तुत गर्नेछन् :

  • स्वर्णिम वाग्ले (अर्थमन्त्री): सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश।

  • सोबिता गौतम (कानुनमन्त्री): केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश।

  • प्रतिभा रावल (भूमि व्यवस्था मन्त्री): सहकारी (पहिलो संशोधन) अध्यादेश।

  • निशा मेहता (स्वास्थ्यमन्त्री): स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश।

  • सस्मित पोखरेल (शिक्षामन्त्री): विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश।

बैठकको सुरुमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्। साथै, सभामुखको अनुपस्थितिमा बैठक चलाउने सांसदहरूको मनोनयन र नियमावलीबमोजिम बाधा अड्काउ फुकाउको प्रस्ताव समेत आजै अनुमोदनका लागि पेस हुने संसद् सचिवालयले जनाएको छ।

आजको मुख्य आकर्षण अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठक हुनेछ। उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट अधिवेशनको पहिलो दिनमै सरकारका नीतिगत प्राथमिकता र कानुनी अड्चन फुकाउन ल्याइएका अध्यादेशहरूमाथि छलफल सुरु हुने देखिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७