आलोकनगरमा सुरु भयो समाजवादी मोर्चाको बैठक
काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि भने पुनः सक्रिय हुन लागेको हो ।
२०८० असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (नेपा) र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा छैन । समाजवादी मोर्चाको बैठकअघि बिहान सिंहदरबारमा प्रतिपक्षी दलका नेताहरुको बैठक बसेको थियो ।
उक्त बैठकमा मोर्चामा सहभागी माओवादी र एकीकृत समाजवादीका नेताहरू सहभागी थिए । चक्रीय प्रणालीमा मोर्चाको नेतृत्व परिवर्तन हुन्छ । हाल एकीकृत समाजवादीका अध्यक्ष नेपाल मोर्चाको संयोजक छन् । पछिल्लो समय केही निस्क्रिय रहेको मोर्चालाई सक्रिय बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई पटक छलफल गरेका थिए ।