प्रेम सुवाल र समिति सभापति राजकिशोर यादवबीच वैठकमै किन पर्यो ‘चर्काचर्की’ ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको वैठकमा सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच ‘चर्काचर्की’ परेको छ । आज (बिहीबार) सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा उनीहरुबीच विवाद भएको हो । आफ्नो असहमतिलाई सभापतिले वेवास्ता गरेको भन्दै सांसद सुवालले कडा स्वरमा प्रश्न उठाए । त्यसपछि यादवले उत्तेजित जवाफ फर्काए । यादवको छेउमै बसेका माधव नेपाल केही बोलेनन् ।
यादवले वैठक समापन भएको घोषणा गरेपछि सुवालले उनीतिर औंला तेर्साउँदै भनेका थिए, ‘सभापति ज्यूले जथाभावी नगर्नुस । मैले बोल्न पाउँछु कि पाउँदिन ? मैले सहमति छैन भन्दा भन्दै कि जबरजस्ती गर्नुभयो ?’ सुवालको भनाइले यादव आवेशमा आए । उनले सुवालको प्रश्नको जवाफ नदिइकन उनलाई थर्काउँदै भने, ‘औंला तल राख्नुस, नौंटंकी गर्ने ?’ सुवालले निरंकुश ढंगले वैठक नचलाउन यादवलाई चेतावनी दिए ।
‘तपाईं निरंकुश बन्न नखोज्नुस, यो राणा शासन होइन, तपाईं राणाको अवतार लिन नखोज्नुस । जसरी राणा शासन समाप्त भयो, त्यसै गरी तपाईं यो समितिबाट हुत्तिनुहुन्छ होस गर्नुस् । तपाईं पनि एक्लै म पनि एक्लै, के फुर्ति गर्नुहुन्छ ?’ सुवाल चर्किए ।
उनले थपे, ‘मेरो आपत्ति छ भनेपछि के हो भनेर सोध्नु पर्दैन सभापति ? अनुपस्थित सदस्यको नाममा समिति बनाएर के गर्न खोज्नुभएको ? तपाईं निरंकुश बन्ने ?’ त्यसपछि यादव आफ्नो कुर्सीबाट उठेर भने, ‘हो, बन्ने । के गर्नु हुन्छ ?’ ‘तपाईं निरंकुश बन्नुभयो भने सकिनु हुन्छ । कुन दिन सिधिन्छ यो सभापति अनि थाहा हुन्छ ।’ यति भनेर भुट्भुटिँदै निस्किए सुवाल ।
नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए थियो ।