राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या : मन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार उत्तरदायी हुनुपर्ने बताएका छन् । आज (शनिबार) नेपाल आर्थिक पत्रकार संघ नाफिजको १५ औं वार्षिक साधारण सभामा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन ।
उनले भने, ‘हामीले अहिले गरेको प्रयत्न भनेको सरकार रेस्पोन्सिभ हुनपर्यो । के मा रेस्पोन्सिभ हुनुपर्यो भन्दा दूध किसानहरुको वर्षौदेखिको भुक्तानीको समस्या छ, त्यसमा सरकार रेस्पोन्सिभ हुनुपर्यो भनेर अघिल्लो पटक हामीले ६० करोड दशैं अघि सरकार रेसपोन्सिभ छ हैं भनेर छुट्टयायौं । त्यो पर्याप्त थिएन । उखु किसानहरुको जहिलेको समस्या छ । सरकार रेस्पोन्सिभ नै छैन ।’
सञ्चारमन्त्री गुरुङले नीतिहरु अपडेट हुन नसकेको समस्या रहेको बताए । उनले भने, ‘सरकारको पोलिसीहरु अपडेट हुन नसकेको समस्या छ । एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा असमझदारी छ । एउटाले अर्कोलाई कम्पिटीर जस्तो ठान्ने प्रवृति छ ।’ मन्त्री गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन् । उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताएका हुन् ।
मन्त्री गुरुङले राजस्व संकलनमा समस्या आएको स्वीकार गर्दै भने, ‘अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन । भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्याएको छ ।’ उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए ।