सकारात्मक सूचकबीच अर्थतन्त्रमा चुनौती कायम : अर्थमन्त्री खनाल
काठमाडौँ : अर्थमन्त्री रामेश्वर खनालले समष्टिगत आर्थिक सूचकहरू सकारात्मक देखिए पनि मुलुकसामु ठूला चुनौती कायम रहेको बताएका छन् ।
नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रहेको ठूलो परिमाणको निष्क्रिय पूँजी उत्पादनशील क्षेत्रमा परिचालन हुन नसक्नु अर्थतन्त्रको प्रमुख समस्या रहेको बताए ।
उनले भने, ‘अहिले मुलुकका सामु सूचकहरूले सकारात्मक अवस्था देखाए पनि ठूला चुनौतीहरू छन्। हामीसँग रहेको निष्कृय पूँजीलाई उत्पादनशील काममा लगानी गर्न सकेका छैनौँ,’ उनले भने, ‘मध्यपूर्व र खाडी मुलुकमा आएको संकटका कारण हाम्रो आपूर्ति शृंखला अवरुद्ध हुने र कतिपय आयात गर्ने वस्तुहरूको मूल्य बढ्न जाने र त्यस गर्दा हाम्रो औद्योगिक उत्पादनसँगै अर्थतन्त्रको लागत पनि बढ्न जाने सम्भावना देखिएको छ।’
मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको संकटले नेपालको आपूर्ति शृंखला प्रभावित हुने र आयातित वस्तुको मूल्य बढ्न सक्ने उनले बताए । यसले औद्योगिक उत्पादनको लागत बढाएर समग्र अर्थतन्त्रमा असर पार्ने सम्भावना रहेको उनको भनाइ थियो ।
उनले भने, ‘हामी सबै सचेत हुन जरुरी छ। कतिपय कुरामा द्रुत गतिले निर्णय गर्नुपर्नेछ,’ उनले भने, ‘हामी सरकार परिवर्तनको संघारमा छौँ। मलाइ विश्वास छ, शक्तिशाली बहुमतसहित आएको आगामी सरकारले वाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्दै अघि बढ्नेछ।’
अर्थमन्त्री खनालका अनुसार हाल शोधान्तर बचत, चालु खाता बचत, पर्याप्त विदेशी मुद्रा सञ्चिति र कम मुद्रास्फीति दर जस्ता सूचकहरूले सुधारको संकेत देखाएका छन् । राजस्व संकलन पनि लक्ष्यको तुलनामा करिब ८३ प्रतिशत पुगेको र वृद्धिदर न्यूनतम ४ प्रतिशत रहेको उनले उल्लेख गरे ।
यद्यपि, रोजगारी सिर्जना, निष्क्रिय पूँजीको परिचालन, लगानीमैत्री वातावरण र लगानीकर्ताको आत्मविश्वास वृद्धि नभएसम्म सकारात्मक सूचक मात्र पर्याप्त नहुने उनले बताए ।
.gif)

.png)

