दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुसार परिणाम आएन : प्रचण्ड


२०८३ कार्तिक ८ शनिबार १८:१७ बजे

​​​​​​काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको बताएका छन्। 

उनले सरकारप्रति जनतामा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको दाबी गरेका छन्।

शनिबार दुईमहिने राष्ट्रिय जागरण अभियानको उद्घाटनका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले मुलुक जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको बताएका हुन्।

ठूलो आशा र अपेक्षासहित गठन भएको दुईतिहाइको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको उनको भनाइ छ।

‘ठूलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ,’ प्रचण्डले भने।

उनले महँगीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको, बेरोजगारी बढिरहेको र युवा पलायनको समस्या गम्भीर बन्दै गएको उल्लेख गरे। 

किसान, मजदुर, उद्यमी तथा व्यवसायीले समेत विभिन्न कठिनाइ भोगिरहेको भन्दै उनले जनजीविकासँग जोडिएका आधारभूत समस्या थप जटिल बनेको बताए।

देशको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले जनताका समस्या र अपेक्षालाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

अभियानमार्फत जनताका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा जनजीविका, राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र नागरिक अधिकारका सवाललाई प्राथमिकताका साथ उठाउने पार्टीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७