रास्वपा महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, ६ दिनमा ५० करोडको व्यापार
होटल र कृषि क्षेत्रमा उत्साहजनक व्यापार
चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले चितवन र आसपासका क्षेत्रको आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि गरेको छ। करिब एक सातासम्म चलेको यस महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक, नेता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थितिले होटल, रेस्टुरेन्ट, यातायात र कृषि व्यवसायमा उल्लेख्य कारोबार भएको हो।
महाधिवेशनको आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार, महाधिवेशन अवधिभर करिब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको अनुमान छ। यसमध्ये सहभागीहरूले आफ्नो आवासका लागि मात्रै करिब २० करोड रुपैयाँ खर्च गरेका छन्।
कार्यक्रमका लागि बाहिरबाट दुई हजार २०० भन्दा बढी साना–ठूला सवारीसाधन चितवन भित्रिएका थिए, जसले यातायात क्षेत्रलाई समेत चलायमान बनाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीका अनुसार, होटल र रेस्टुरेन्टहरू भरिभराउ हुँदा दूध, माछा, मासु, अण्डा र फलफूलजस्ता स्थानीय कृषि उत्पादनको खपत उच्च दरमा बढेको छ। 'होटल र रेस्टुरेन्टको व्यवसायले अन्य सहायक व्यवसायलाई पनि चलायमान बनाएको छ, जसले भरतपुरको समग्र आर्थिक चक्रमा सकारात्मक प्रभाव पारेको छ,' उनले भने।
भरतपुरका साथै सौराहा, पूर्वी चितवन र नवलपरासीको गैँडाकोटसम्मका होटलहरूमा प्रतिनिधिहरूको व्यवस्थापन गरिएको थियो। पार्टीले खानाको व्यवस्थापनका लागि मात्रै ४ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाइएको छ।
क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डेले यस महाधिवेशनले भरतपुरका होटल व्यवसायीहरूलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै सहभागीहरूलाई चितवनका पर्यटकीय गन्तव्यहरू चिन्ने अवसरसमेत प्रदान गरेको बताए।
.gif)

.png)

