सिस्नेरी घटना : एन्फामा खेलाडीका आफन्तको धर्ना, प्रहरीको हस्तक्षेप


२०८१ मङ्सिर ६ बिहीबार २२:५९ बजे

काठमाडौं । मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका बालकहरूको परिवार र  आफन्तजनले आज (बिहीबार) एन्फा कम्प्लेक्समा धर्ना दिएका छन् । पहिरोमा परी ज्यान गुमाएका ६ बालकहरूको विषयमा सरकारले छानबिन समिति बनाउनुपर्ने उनीहरूको मुख्य माग छ ।

धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछार समेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका छन् । पीडित परिवारले सातदोबाटोस्थित एन्फा मुख्यालयको गेटमा तालाबन्दी गर्दै धर्ना दिएका हुन् । एन्फाले पीडित परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् । 

गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी स्कुलमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको निधन भएको थियो । एन्फाकै कमजोरीका कारण उक्त घटनामा आफ्ना बच्चाहरू गुमाएको भन्दै आफन्तहरुले वर्तमान नेतृत्वलाई आरोप लगाउँदै तालाबन्दी गरेका हुन् ।

उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो । यस्तो घटना भइसक्दा पनि एन्फाले कुनै छानविन नगरेको र नेतृत्वले ज्यान गुमाउनेका आफन्तालाई अझै पीडा दिएको भन्दै दुःख व्यक्त गरेका छन् । साथै आफन्तहरुले यस घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग राखेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७