यहि व्यवस्थामै सम्भावनाहरु खोज्न आवश्यक छ : राष्ट्रपति पौडेल


०७:२९ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । गणेशमान सिंह तथा जन आन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौंमा आयोजित गणेशमान सिंह ११०औं जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।

‘मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ । स्वतन्त्रता लोकतन्त्रको आधारभूत र अत्यावश्यक आलोक पनि हो’, उनले भने, ‘लोकतन्त्रको यही आलोकलाई अंगिकार गर्दै हामीले अपनाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु हुँदैन ।’ मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद् चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

‘त्यसको लागि मुलुकमा देखिने भ्रष्टाचार, विकृति र विसंगति हटाउन जरुरी छ, अवसरबाट वञ्चित, गरीब र पिछडिएका जनताको आवाज र असन्तुष्टि सुनी उनीहरूलाई केन्द्रमा राखेर सरकारका नीति एवम कार्यक्रम तय गरी लागू हुनुपर्दछ, सुशासन र विकास त्यसको आधार हो भने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने । उनले गणेशमानले भने जस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसंगति व्यहोर्नुपर्ने थिएन भन्दै तथापि वीपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताए ।

राष्ट्रपति पौडेलले वीपीले गणेशमानका बारेमा भन्ने गरेको कुरा स्मरण गर्दै भने, ‘गणेशमानजी साहसी वीर र संघर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनु हुन्थ्यो ।’ नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उनले बताए । 

‘दृढ विचार, साहस र त्याग सिंहको समग्र व्यक्तित्वको सार हो, लोकतान्त्रिक सिद्वान्त, मूल्य मान्यता र निष्ठालाई आफ्नो जीवनशैली मान्नुहुने उहाँले यसको मूल्यमा कहिल्यै कुनै सौदावाजी गर्नु भएन, सिंहको त्यही सद्गुण नै लोकतन्त्रप्रेमीहरूको लागि आज पनि उत्तिकै प्रेरणापुञ्ज हो भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने। उनले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकार हुन नसक्ने बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७